पत्रकारसँग अन्तरक्रिया



काठमाडौं, (नेस)

अविभेद र समानताका लागि कार्यरत महिला, कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) ले पत्रकारहरूसँग अन्तक्र्रिया गरेको छ।

कमलपोखरीस्थित काजे होटलमा आयोजित कार्यक्रममा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सरकारले गरेका महिला हिंसाविरुद्धका कार्य तथा गर्न लागेका कार्ययोजनाका विषयमा महिला तथा बालबालिका मन्त्रालयकी सहसचिव मनमाया पंगेनीले सारांशमा पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो।

केही समय अगाडि बैतडी, अछामलगायतका जिल्लामा छाउगोठ भत्काइएको विषयमा पत्रकारले जिज्ञासा राख्दा मन्त्रालयले यस विषयमा अध्ययन गरी अभियान नै सञ्चालन गर्न लागेको उहाँले जानकारी गराउनुभयो।

समाजमा सकारात्मक सन्देश दिने गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताउँदै एफडब्ल्यूएलडीका अध्यक्ष सविन श्रेष्ठले लैंगिक हिंसामुक्त समाज बनाउन सञ्चारमाध्यमसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको धारणा राख्नुभएको थियो।

छाउगोठ भत्काउँदैमा समस्याकोे समाधान ननिस्कने बताउँदै पत्रकारहरूले समाजलाई सुसूचित गरी लैंगिक हिंसामुक्त बनाउन कुनै कसर बाँकी नराखेको कार्यक्रमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस्