लागूऔषधसहित पक्राउ परे तीन युवा



म्याग्दी, (नेस)

लागूऔषधसहित तीन जना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। बागलुङ नगरपालिका–१० डब्ल्याङबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ घर भई हाल बेनपा–८, बेनीबजार बस्ने २० वर्षीय हरि छन्त्याल, रघुगंगा–७, चिमखोलाका १८ वर्षीय लक्की पुन र बानपा–१०, भकुण्डे बागलुङका १९ वर्षीय विशाल थापा रहेको प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो। गोप्य सूचनाको आधारमा उनीहरूको साथबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल बरामद गरिएको उहाँले बताउनुभयो।

म्याग्दी प्रहरीले नियन्त्रणमा लिएका ती युवालाई क्षेत्राधिकार बागलुङ पर्ने भएकाले थप अनुसन्धानका लागि बागलुङ प्रहरीलाई बुझाएको छ। म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जिल्लामा आएलगत्तै लागूऔषधको सञ्जाल र प्रयोगकर्ताको खोजीलाई तीव्रता दिएका छन्। विद्यालय उमेर समूहका अधिकांश लागूऔषधको दुव्र्यसनीमा फसेको हुँदा उनीहरूले आफ्ना साथीहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएको उहाँले बताउनुभयो।

म्याग्दी सदरमुकाम बेनीमा स्कुले विद्यार्थीसमेत दुव्र्यसनीमा फस्न थालेको डरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत् नयाँलाई खोजी गर्ने क्रममा भेटिएको प्रहरीले जनाएको छ।

विगतमा समेत लागूऔषधको प्रयोगमा नियन्त्रणमा लिइएका युवाहरूलाई निगरानी गरिरहेको अवस्थामा मंगलाघाटबाट एक महिनाअगाडि ठूलो परिमाणमा लागूऔषधसहित प्रयोगकर्तालाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्