राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने



बैतडी, (नेस)।

राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी आउनुहुनेभएको छ। राष्ट्रपति भण्डारीले यही १५ गते त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारी पहिलोपटक बैतडी आउन लाग्नुभएको हो। दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुनेछ। साथै मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।

त्यस्तै दशरथचन्द नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्नेछ। तत्पश्चात् पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्