देशकै पुरानो गणले मनायो वार्षिकोत्सव



नेपाल समाचारपत्र, हेटौंडा

पुरानो गोरख गणले २५७औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।पुरानो गोरख गण नेपाली सेनाको सबैभन्दा पुरानो गणमध्ये एक हो। यसको स्थापना विसं. १८१९ फागुन १० गते भएको हो। आधुनिक नेपालको उद्गमस्थल गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि सेनाको अपरिहार्यतालाई स्वीकार गरी सेनाको संस्थागत विकास शुरु गरेका थिए।

मकवानपुरको भैंसेमा रहेको ब्यारेकमा वार्षिकोत्सव उद्घाटन गर्दै नेपाली सेनाका उपरथी प्रभुराम शर्माले नेपाली सेनाको बलिदानबाट नै आधुनिक नेपाल निर्माण भएको बताउनुभयो। गणमा रहेका सेनाले पहिलो र दोस्रो विश्वयुद्ध लडेको समेत उहाँले स्मरण गर्नुभयो।

शर्माले गणका सेनाले गरेको त्याग र समर्पणको उच्च कदर गर्दै एकीकरण अभियान नेपाली सेनाले गरेको योगदान कहिल्यै भुल्न नसकिने बताउनुभयो।
विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रमका विजयीलाई पुरस्कार तथा ट्रफी पनि कार्यक्रममा बितरण गरिएको थियो।

कार्यक्रममा कर्तव्यपालनका सिलसिलामा घाइते तथा बिरामी परिवारलाई सहयोग तथा वीरगतिप्राप्त सैनिक श्रीमती र परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली सेनाका विभिन्न गणका गणपति, पूर्वसैनिक र सैनिकका परिवारलगायतको सहभागिता थियो।
मकवानपुरगढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरख गण स्थापना गरेका थिए। पृथ्वीनारायण

शाहले राज्य एकीकरण गर्ने बेला खस, मगर, गुरुङ र ठकुरी चार जात मात्र विश्वसिला हुन् भनी आफ्ना फौजमा यी जातिलाई नै भर्ती गर्ने गरेका थिए।
त्यसमा पनि मगर र गुरुङलाई विशेष स्थान प्राप्त थियो। राज्य एकीकरणमा मगरको पुरानो गोरख गण निर्माण गरिएको थियो। राज्य एकीकरणमा यी फौजले प्रमुख भूमिका निभाएका थिए।

नेपाल एकीकरणको शुरुमा सन् १७४४ मा नुवाकोट र मकवानपुर राज्य कब्जा गर्दा लडाईंमा सहभागी भएका मगरले बहादुरी, देशभक्ति तथा इमानदारिता प्रदर्शन गरेका थिए।

उक्त विजय अभियानमा मधु राना, जसु राना, नरवीर आले, सञ्जित थापालगायत धेरै मगर सैनिकले वीरगति प्राप्त गरेका थिए। यसरी मगरले पु¥याएको योगदानबाट प्रभावित भएर मकवानपुरगढी कब्जा गर्दा बरामद भएको हतियार तथा धनको सहयोगले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट गोरखनाथ बाबाको स्मृतिस्वरुप मगर जातिलाई मात्र भर्ना गर्ने गरी गोरख कम्पनी स्थापना भएको हो।

विसं. १८४० पुस १६ मा रणबहादुर शाहले खडा गरेको अर्को कम्पनीको नाम पनि ‘गोरख’ नै जुरेकाले उक्त पल्टनलाई पुरानो गोरख पल्टन र नयाँ कम्पनीलाई नयाँ गोरख कम्पनी नामाकरण गरियो।

विसं. २००९ सालको पुनर्गठनमा उक्त पल्टन पुरानो गोरख गणका रुपमा परिणत भयो। लामो इतिहास बोकेको गणमा स्थापनाकालदेखि हालसम्म मगर जातिलाई मात्र भर्ना गरिने गरिएको छ।

नेपाल एकीकरणका सिलसिलामा पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट त्रसित बनेका काठमाडौंका मल्ल राजा जयप्रकाश मल्लले तत्कालीन समयमा भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनीसँग सहायता मागेपछि मल्ल राजाहरूको पक्षमा गोर्खाली फौजसँग लड्न क्याप्टेन किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेज फौजलाई उक्त गणसमेत सम्मिलित फौजले सिन्धुली जिल्लाको सिन्धुलीगढीमा वीरतापूर्वक लडाईं लड्दा गोर्खाली फौजसँग केही नलाग्ने भएपछि क्याप्टेन किनलक आफ्नो बचेका फौजसहित भाग्न बाध्य भएको इतिहास छ।

प्रतिक्रिया दिनुहोस्