उपत्यकाको सडक जामले सधैँ सास्ती



हाम्रो देशको विकास ज्यादै सुस्त छ। ४ दशकदेखि राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी लोकमार्ग एउटै छ। अहिले त्यो मार्गमा निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्डको दर्जनौँ स्थानमा पहिरोको उच्च जोखिमले यात्रा गर्दा छातीमा हात राख्नुपर्ने अवस्था छ। ३६ किलोमिटर दूरीको यो सडकमा विगत तीन वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ। तर, दैनिकरूपमा यातायात आवागमन अवरुद्ध हुँदा यात्रुको बिचल्ली मात्र होइन राजधानीमा खाद्यान्नलगायत विभिन्न सामानमा प्रभाव परेको छ।
नारायणगढ–मुग्लिन सडकमा गाडी दुर्घटनाभन्दा पनि पहिरोको पिरलो ज्यादा हुने गरेको छ । दैनिक हजारौँ यात्रुले यात्रा गर्ने सो सडकखण्ड अति जोखिमपूर्ण छ। यस्ता दर्जनौँ जोखिमपूर्ण स्थान पार गरेपछि यात्रुलाई ठूलै युद्ध जितेजस्तो अनुभूति हुनु स्वाभाविकै हो। तर, बाध्यतावश अधिकांश यात्रुले यही सडकबाटै यात्रा तय गर्नुपर्ने नियति बनेको छ।
सवारीसाधनको अत्यधिक चापका कारण सडक सुचारु भए पनि जाम पार हुनसमेत घन्टौँ समय लाग्ने गरेको छ। कति बेला कुन ठाउँमा पहिरो खस्छ भन्ने अनुमान लगाउन नसक्दा लामबद्ध कुन सवारीसाधन कति बेला पुरिन्छन् वा के–कस्ता विपत्तिको सामना गर्नुपर्छ भन्ने केही ठेगान हुँदैन। यस्तो यात्रा गर्न विवश भइरहनुभन्दा सम्भाव्य दुर्घटनाबाट बच्न अब वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। हाम्रो जस्तो मुलुकमा हवाई सेवा आवश्यक छ। सम्पन्न र विकसित देशमा सर्वसाधारणले पनि चढ्न सक्ने हवाई सेवा सरकारले दिन्छ। हाम्रो सरकारले पनि जनतालाई शेयर दिएर भए पनि हवाई जहाज किनोस्।
सकभर यात्रा नै नगर्ने र गर्नुपर्ने नै भए सुरक्षित र भरपर्दो यात्रा गर्न सके अमूल्य जीवनलाई अकालमा फाल्नुपर्दैन। हामी सबैले बुझौं, हाम्रो जीवन मात्र एकपल्टको हो। जोखिम मोलेर नहिँडौं। झन् मोटरसाइकल त प्रयोग गर्दै नगरौं।
यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन र कहिले पहिरो पन्छाउँदै त कहिले जाम खोल्दै सुरक्षाकर्मीहरूले सर्वसाधारणको हितमा काम गर्दै आएका छन्। नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ज्यानको बाजी थापेर सक्रियता देखाउँदै आएका छन्। सधैँ एकै खालका समस्या बल्झिरहने भएकाले यात्रुले अब यात्राको पनि विकल्प खोज्नुपर्छ। मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्न आवश्यक छ।
राजधानी जोड्ने कम्तीमा पनि ५ वटा मार्ग हुनु आवश्यक छ। त्यसका लागि सरकारले पहिलो मार्ग त्रिभुवन राजपथलाई विस्तार गरोस्। थानकोट–भीमफेदी मार्ग बनाओस्। खोपासी–तालढुंगा सडक हुँदै हेटौंडा पु¥याउने सडक छिटो निर्माण गरोस्। अनि मात्र पृथ्वी राजमार्गमा सवारी चाप कम हुन्छ। सधैँ अवरुद्ध हुने सडक हामीले प्रयोग गर्नुहुँदैन। यस्तो परिस्थितिमा यात्रुले अति आवश्यक भएको बेलामा मात्र यात्रा गरौं। यो सूचनाको युग हो। सूचना प्रविधि प्रयोग गरेर समय, धन बचत गरौं। राजधानीबाहिर जाने र भित्रिने हो भने पनि वैकल्पिक सडक प्रयोग गरेर सम्भावित जोखिमबाट बचौँ भन्ने मेरो आग्रह हो।
– रोशन पहरी, ललितपुर।

प्रतिक्रिया दिनुहोस्