गुलाफः प्रेमी–प्रेमिकाको प्रिय फूल



प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ। युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई रातो गुलाफ दिएर प्रेम प्रस्ताव राख्ने गरिन्छ यो दिनमा।
फूलकी रानी, मायाको प्रतीक, सौन्दर्यको विम्ब इत्यादि नाम र उपमाबाट संसारैभरि माया, वाहवाह र तारिफ खाइरहेकी सुन्दरी फूल गुलाफलाई गुलाब पनि भनिन्छ। गुलाब शब्दको अर्थ हो– ‘गुल’ अर्थात् फूल र ‘अब’ अर्थात् अब्बल। अथवा सर्वोत्कृष्ट फूल। तर नाम बिगार्नै पर्ने नेपालीले भनिदिए ‘गुलाफ’। यसलाई अंग्रेजीमा ‘रोज’ भनिन्छ भने संस्कृतमा चारुकेशरा, कर्णिका, महाकुमारी आदिका नामले चिनिन्छ।
धर्तीमा गुलाफको अस्तित्व कहिलेदेखि आयो भन्ने इतिहास खोतल्दा करिब ३ करोड ५० लाख वर्ष पुरानो गुलाफको अवशेष अमेरिकाको कोलोराडोमा फेला परेको छ। मानिसद्वारा सर्वप्रथम गुलाफको खेती क्यास्पियन समुद्रको नजिक उत्तरी पार्सिया र खाडीको फरिस्तानमा भएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।
चिनियाँ बादशाहका पुस्तकालयमा गुलाफ विषयका धेरै पुस्तक थिए भनेर कन्फ्युससले ५५१ बीसीदेखि ४७९ बीसीमा आफ्नो बयानमा उल्लेख गरेको पाइन्छ। यस्तै २८६० बीसीमा मेसोपोटामियाका प्राचीन सुमेरियन्सले गुलाफका बारेमा ढुंगामा आकृति नै बनाएका थिए। यसले ५–६ हजार वर्षअघि नै मानवसभ्यताले गुलाफलाई उपयोगमा ल्याइसकेको कुरा
उजागर गर्दछ।
गुलाफको फूललाई साहित्यकारले साहित्यमा भरपूर प्रयोग गरेको पाइन्छ। गुलाफको नाम लिएर उनीहरू कहिल्यै थाक्दैनन्। चर्चित नाटक ‘प्रेमपिण्ड’मा बालकृष्ण समले गुलाफप्रतिको अगाध आस्था दर्शाएका छन्। उक्त नाटकमा मुख्य पात्रले आफ्नी प्रेमिकालाई मृत्युपछि गुलाफसँग नछुट्टिने इच्छा प्रकट गरेका छन्– ‘प्यारी÷गुलाफको चितामा हामी जल्थ्यौं, जहाँ सुवासको धुवाँ मगमगाइरहन्थ्यो।’
जर्मनीमा रातो गुलाफको महत्व नेपालमा भन्दा बढी नै छ। त्यही भएर चर्चित कवि रोबर्ट बर्नसले आफ्नी प्रेमिकाको सौन्दर्यलाई गुलाफसँग तुलना गर्दै लेखेका छन्– ‘मेरी प्रेमिका वर्षायाममा फक्रिने ताजा रक्तिम गुलाफजस्तै छिन्, बगैंचालाई ढकमक्क पार्ने त्यो गुलाफको बयान
गरिसाध्य छैन।’
अर्का साहित्यकार एलिसन रिचर्डको एउटा उद्गार पनि सुन्दर छ– ‘मेरी मायालुको मुहार एउटा प्राकृतिक विविधता बोकेको बगैंचा हो, जहाँ गुलाफ र कुमुदिनीहरू लहरै फुलेका छन्।’ यस्तै प्रसिद्ध नाटककार सेक्सपियरलाई गुलाफको सौन्दर्यले मज्जाले पगालेको पाइन्छ। १६ औं शताब्दीतिर उनले लेखेका नाटकहरूमा गुलाफको प्रशंसालाई अनगिन्ती ठाउँमा समेटेको पाइन्छ। ‘कसैको फूलबारीमा जाँदा यदि गुलाफ देखिएन भने सारा बगैंचा अधुरो हुन्छ’, सेक्सपियरले अगाडि लेखेका छन्– ‘यदि बगैंचामा गुलाफहरू ढकमक्क फुलेका छन् भने संसार गुलजार लाग्छ।’
आजको २१ औं शताब्दीमा प्रणय दिवसमा प्रेमी–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रंगको गुलाफको फूल आदान–प्रदान हुन्छ। यो दिन विश्वभरि करोडौं डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ। यो वर्षको प्रणय दिवसको लागि नेपालले पनि भारतबाट एक लाखवटा गुलाफको फूल आयात गर्न लागिएको र फूलको मूल्य ३० लाखदेखि ४० लाख रुपियाँ पर्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिएका छन्। अन्य दिन र समयमा भन्दा पनि यस प्रणय दिवसका दिन गुलाफको फूलको महत्व झनै धेरै भएको
शआभास मिल्छ।
– त्रिचन्द्र श्रेष्ठ।

प्रतिक्रिया दिनुहोस्