बीमाको नियामक निकायलाई सशक्त बनाउन जोड



नेपाल समाचारपत्र, काठमाडौं ।

बीमा व्यवसायको नियामक निकायको क्षमता विस्तारका लागि विज्ञहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा विज्ञहरूले नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन्। बीमा व्यवसायको नियामक निकायलाई स्वायत्त र सबल बनाउन सके बीमितको हक सुनिश्चित गर्न सहज हुने विज्ञहरूको विश्वास रहेको छ।

समितिले बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल अघि सोमबार सो विषयका विज्ञसँग छलफल गरी रायसुझाव लिएको हो।

बैठकमा विज्ञहरू डा. फत्तबहादुर केसी, वीरेन्द्र बैधवार, वीरकृष्ण महर्जन, सुरेन्द्रमान प्रधानलगायतले बीमितहरूलाई बीमा साक्षारता बढाउने, बीमितका हितमा सेवासुविधा सहज बनाउनुपर्ने, बीमाका अन्तर्राष्ट्रिय सिद्धान्त आदि विषयमा सुझाव दिनुभएको थियो।

समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रप्रसाद पाण्डेलगायतले अब बन्ने कानुनमा नियामक निकायलाई सूक्ष्म नियन्त्रणभन्दा उत्तरदायी र पारदर्शी बनाई बीमितले सहज रुपमा क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्