सोलु करिडोर प्रसारण लाइनको अवरोध हटाउन पहल



नेपाल समाचारपत्र, काठमाडौं ।

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका—४ मरुवामा जारीे निर्माण अवरोध हटाउन नेपाल विद्युत प्राधिकरणले पहल गरेको छ। सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आउन नदिन प्राधिकरणले पहल गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलगायतको टोलीले आइतबार अवरोधस्थलको निरीक्षण गरी प्रस्तावित प्रसारण लाइन रुटको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरेको छ। स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग राख्दै दुई वर्ष अघिदेखि निर्माणमा अवरोध गर्दै आएका छन्। त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नुपर्ने छ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले सबै प्रक्रिया पूरा गरी निर्माण भइरहेका आयोजनाको रुट सार्न नसकिने स्पष्ट पार्नुभयो। ‘घनावस्ती र खेतियोग्य जमीनलाई कम क्षति पुग्ने गरी रुट तय गरिएको छ, यो लाइन तत्काल बनाउन सकेनौं भने निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा छौं, यस्तो संवेदनशील आयोजनाको अहिले आएर रुटलाई अलिकति पनि दायाँबायाँ गर्यौं भने लाइन नै बन्दैन, त्यसैले रुट सार्न सकिंँदैन,’ उहाँले भन्नुभयो।

उहाँले ऐलानी जग्गाको भोगचलन गरी फिल्डबुकमा नाम भएमा मूल्याङकित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नाम नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले अन्य आयोजननामा यसअघि नै गरिसकेकाले उक्त सुविधा सो क्षेत्रका बासिन्दालाई पनि उपलब्ध गराइने बताउनुभयो। प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमुनि ९/९ मिटर दायाँ र बायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिँंदै आएको छ।

मेयर श्रेष्ठले अवरोध हटाएर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। आयोजना प्रमुख जनार्दन गौतमका अनुसार निर्माणमा १९ ठाउँमा भइरहेको अवरोध हटेमा यसै आर्थिक वर्षभित्रमा प्रसारण लाइनको निर्माण सम्पन्न हुनेछ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिलासम्मको प्रसारण लाइनको लम्बाई ९० किलोमिटर छ। प्रसारण लाइनमा पर्ने ३०३ टावरमध्ये २४८ को जग हालिएको र १६० खडा गरिएको छ। ३१ किलोमिटर तार तानिएको छ।

सोलुखुम्बुको तिलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ। यो सँगै सिराहाको लाहानबाट तिलासम्म ३३ केभी लाइन पुगेको छ। २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् अस्थायी वैकल्पिक व्यवस्थाको रुपमा यही ३३ केभी लाइनबाट जोड्ने प्रयास भइरहेको छ।

सोलु करिडोर प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

त्यसमध्ये सरकारले प्रतिस्पर्धामार्फत प्रवद्र्धक छनोट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३ दशमलव ५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था पीपीएमा छ। सबै आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ।

प्रतिक्रिया दिनुहोस्