‘प्रधानमन्त्रीलाई खुला पत्र’



नारायण खनाल, मालारानि-३, अर्घाखाँची

सम्माननिय प्रधानमन्त्री ज्यू,
जन्मदिनमा नेपालको नक्सा आकारको केक बनाएर,आकाशमा शयर गराएपछि, काटेर खाँदा तपाईंले त कति आनन्दाभूति गर्नु भो कुन्नि, अझै सेयर गर्नु भए न, गरे पछि जानकारी हो ला तर जन्मदिनमा काटिएको उक्त केकले देशभर तरङ्ग पैदा भएको छ। अन्तर्राष्ट्रिय अभ्यास गरिएको भनेर कोही तपाईंको जयजयकार गरिरहेका छन् त कोही आमालाई चोक्टाएर खाए प्रमले भनेर बहस गरिरहेका छन् ।

यसै त नेपाली संस्कृतिमा नभएको जन्मदिन मनाउने चलन, उसैमा पनि मातृलाई चिरा पारेर खानु, तपाईं र तपाईंका सल्लाहकारको उरन्ठेउलो निर्णय हो भन्ने मेरो बुझाइ हो ।आफ्नै मातृलाई चिर्दा नकाप्नेहातहरु कस्ता होलान् भन्ने नैतिक प्रश्न पनि हो ।

समृद्धिको सपना देख्ने र सपनालाई विपनाको आभाले चम्काएर देशको मुहार फेर्ने शासक जन्मिएको खुसी बाँड्न आतुर जनतालाई तपाईंको दुई तिहाइ सहितको सत्तामा उपस्थितिले आशा जगाएको थियोे तर तपाईं आफैले सञ्चालन गरेको राज्य सञ्चालनको २ बर्षले ूसबै कुरा गफ त हुन नि ूभन्ने कुरालाई बलियो प्रमाण पुगेको छ।

सम्माननिय प्रम ज्यू,

हुनत तपाईंको जन्मदिन, तपाईंको इच्छा अनुसार मनाउन पाउनु तपाईंको नैसर्गिक अधिकार नै हो तर तपाईं ब्यक्ति मात्रै नभएर संस्था हो र त्यसमा पनि सर्वहारा बर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाइ सरकारको कार्यकारी प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत।तपाईंको पार्टीको केन्द्रीय निर्देशन पार्टीका कुनै पनि सदस्य फजुल खर्चमा सम्लग्न हुन नहुने भन्ने भएको कुरा चर्चामा चलिरहेको बेला अध्यक्ष आफैले केक समेतलाई आकाश शयर गराएर, लाखौं खर्चको तामझाममा आलोकित भइ, हजारौंको भोज सहित, जन्मदिन मनाएको कुराबाटै निस्ठावान कार्यकर्ताको मन कति दुख्यो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्योभन्दा धेरै गुणा बढी त नेपाली संस्कृति नभएको बिषयमा नेपाल कै नक्शा आकारको केक काटेर जन्मोत्सव मनाउनु, केक हेलिकप्टरमा शयर गर्दा, तपाईंका हातबाट छात्रवृत्ति बुझ्ने बिद्यार्थी घण्टौ हिँडेर र ट्याक्टरमा चढेर आउनु आदिले नेपाली जनताको मनमा तपाईं प्रति उठेका गुनासाका सगरमाथा दुखका आँसु बनेर कोशी नदिका छालहरुमा कति बगे होलान् कोशीको मुखबाट सुन्ने प्रयास गर्नु पर्ने हुन्छ बास्तबिक पिडाको अनुभूतिका लागि ।

सर्वहारा साँस्कृतिक चेतले लैस नेता कार्यकर्ताले भरिपूर्ण देशभक्त पार्टी बन्ने आशमा रहेका कम्युनिस्ट शुभचिन्तकको आशा निराशामा परिणत गराउने कार्य तपाईं र तपाईंका अर्का अध्यक्ष प्रचण्ड अनि बिचौलियाको भुमिका निर्वाह गरिरहेका तपाईंहरू वरिपरि नाचिरहेका तपाईंहरूका नजिककाहरुले नै गरिरहेका थुप्रै प्रमाणहरु, भ्रष्ट मन्त्री र माथिल्लो ओहदामा रहेका भ्रष्ट कर्मचारी जसलाई राज्यले नै जोगाइरहेको छ बाटै इमानदारीपूर्वक पूरा गरिएको छ।

महोदय, तपाईंको जन्मदिन तपाईं आफ्नो हिसाबले मनाइरहँदा देशमा देश दुखेका थुप्रै उदाहरण छन्, लिम्पियाधुरा कालापानी रअन्य थुप्रै ठाउँमा मातृ लुछिएकि र चोँइटिएकि छन्, तपाईंको केकको चिरा को सन्दर्भ यतै जोडिएको छ, सामाजिक सञ्जालमा।तपाईंको भित्री मनशाय यही नै हो त नभनौँ तर संकेत इन्द्रेणीका सप्तरङ्ग भन्दा सुर्यका परावैजनि किरण तिर तेर्सिएका छन् । तपाईंका सल्लाहकारहरु तपाईंलाई उरन्ठेउला काममा संलग्न गराएर खुसी मनाउने दुस्साहसमा लागेका त छैनन् प्रश्न उठेको छ, आज।

अन्तमा, प्रमको जन्मदिन जनताको खुसीको दिन, तपाईंले नेपाल आकारको केक चिरा पारेर खाए जस्तै मेरो देशको समृद्धि ,स्वाभिमान ,राष्ट्रियता र अखण्डता नखाइयोस् ,लिम्पियाधुरा र कालापानी अनि सुस्ताहरु सुस्त सुस्त नछिनालिउन। भ्रष्टहरुको डसाइले मुर्छित देशको होस खुलोस् ।

राजनीतिक बिचौलियाका कारण दुखिरहेको बिकास ,आदर्श , नैतिकता सबै जागोस् र पापीहरुको कुदिन शुरु होस्, सबै प्रकारका बितण्डताहरु निर्मूल पार्न सक्ने सामर्थ्य पैदा होस् नेपाल आमा चिरा पार्ने बुद्धि बदलिएर एकताको भावमा देश हँसाउने र समृद्धिको फूल फुलाउने चिन्तन पैदा होस् , ढिलै भए पनि जन्मदिनको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्