कालापानीसहितको नेपाली नक्सा विद्यालयमा प्रयोग गर्न शिक्षामन्त्रीको आह्वान



न्युज अफ नेपाल,काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानीसहितको नक्सा उल्लेख  नेपाली नक्सा मात्र विद्यालयमा प्रयोग गर्न आह्वान गर्नुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०को १३ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियताको विषय प्रमुख हो । त्यसैले नयाँ शैक्षिकसत्रबाट नेपालको नक्सा प्रयोगमा ध्यान दिनुहोला । लिम्पियाधुरा र कालापानी उल्लेख नगरिएको नक्सा नभएका पुस्तक नपढाउनुहोला ।”

उहाँले नेपालमा विद्यालयको संख्या अत्याधिक भएको उल्लेख गर्दै अब गाभेर तिनलाई कम गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले निजी र सामुदायिक विद्यालयलाई एक आपसमा गाभ्नुपर्ने उपाय बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले निजी स्कुलले हिजोको जस्तै सञ्चालन गर्छु भनेर नसोचे हुन्छ भन्दै अब विगतमा जस्तो सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले स्थानीय तहले नै अग्रस्थानमा रहेर शिक्षा क्षेत्रलाई हाक्ने बताउनुभयो ।

सांसद उमेश श्रेष्ठले जग्गा किनेर विश्वविद्यालय स्थापना गर्न निजी स्कुलका सञ्चालकहरुलाई आह्वान गर्दै भने, “आउनुहोस् विराटनगरमा जग्गा किनेर विश्वविद्यालय बनाऔँ । त्यो भएपछि हामीले अरु विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने आवश्यकता रहँदैन ।”
शिक्षासचिव महेश दाहालले सार्वजनिक शिक्षा कमजोरमात्र नभई लाजमर्दो नै रहेको बताउँदै निजी शिक्षाको स्तर राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कार्यपालिकाहरुले अव्यवहारिक किसिमका ऐन बनाएको बताउँदै उनीहरुले बनाएका ऐनका कारण समस्या सिर्जना भएको गुनासो पोखे । उनले मुलुकमा राजनीतिक संक्रमण अन्त्य भए पनि शिक्षा क्षेत्रमा संक्रमण अझै जारी रहेको तर्क गरे ।

प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गानाले शिक्षामा सरकारी लगानीले मात्र सम्भव नहुने हुँदा निजी क्षेत्रको उपस्थिति पनि आवश्यक पर्ने बताए भने राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी शिक्षाप्रति राज्यले विभेद गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्