इरानमा कोरोनाबाट मृत्यु भएकाको संख्या १२ पुगेको सरकारको दाबी, सांसद भन्छन्-५० जना मरिसके



तेहरान ।

इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा विवाद भएको छ । इरानमा स्वास्थ्यमन्त्रीले कोरोनाबाट १२ जनाको मृत्यु भएको दाबी गरेका छन् । सांसदहरुले भने ५० जनाको मृत्यु भइसकेको बताएका छन् ।

इरानका सांसदहरुले कोरोनाको संक्रमणका कारण ५० जनाको मृत्यु भइसकेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । इरानी सांसद अहमद अमिराबदी फराहानीले इरानमा यसअघि बताइएभन्दा भयानक तवरमा कोरोनाको संक्रमण फैलिरहेको बताए ।

“कोम क्षेत्रमा हरेक दिन १० जनाको मृत्यु हुने गरेको छ । आइतबार रातिसम्म ५० जनाको मृत्यु भइसकेको छ,” सोमबार फराहानीले समाचार संस्था इलानालाई जानकारी दिए । उनले थपे, “यसको दोषी स्वास्थ्यमन्त्री हुन् । उनले कोरोना नियन्त्रणका लागि आवश्यक पहलहरु गर्न सकेका छैनन् । कोममा कोरोना नियन्त्रणका लागि खासै प्रयासहरु भएका छैनन् । मलाई लाग्छ सरकारको यस प्रयासले कोमको कोरोना नियन्त्रणमा आउन निकै समस्या पर्छ ।”

तर, स्वास्थ्य मन्त्रालयले भने सांसदको उक्त आरोपमा सत्यता नभएको भन्दै अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने अहिलेसम्म १२ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ भने अन्य ६१ जनामा संक्रमण देखिएको छ । “हाम्रो वास्तविक सूचनामा कसैको पनि पहुँच छैन । सायद गलत बुझाई भएको हुनसक्छ । किनभने केही फ्लु र कोरोनाका लक्षणहरु समान छन्,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता इराज हरिरचीले सोमबार भने ।

आइतबार इरान सरकारले राजधानी तेहरानसँगै १४ वटा प्रान्तका विश्वविद्यालयहरु र विद्यालयहरु बन्द गरेको थियो । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार यसअघि नै तय भएका फुटबलका खेलहरु हुनेछन् । तर, स्टेडियममा दर्शकलाई भने प्रवेश पाउने छैनन् । सीएनएन

प्रतिक्रिया दिनुहोस्