लागूऔषधसहित पक्राउ परेका ३ युवकलाई बागलुङ पठाइयो



न्युज अफ नेपाल, म्याग्दी ।

लागूऔषधसहित तीनजना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङ भन्ने ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ घर भई हाल बेनपा–८, बेनीबजार बस्ने २० वर्षीय हरि छन्त्याल, रघुगंगा–७, चिमखोलाका १८ वर्षीय लक्की पुन र बानपा–१०, भकुण्डे बागलुङका १९ वर्षीय बिशाल थापा रहेको प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा उनीहरुको साथबाट प्रहरीले डाईजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल बरामदसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

म्याग्दी प्रहरीले नियन्त्रणमा लिएका ती युवाहरुलाई क्षेत्राधिकार बागलुङ जिल्ला पर्ने भएकाले थप अनुसन्धानका लागि बागलुङ प्रहरीलाई बुझाएको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जिल्लामा आएलगत्तै लागूऔषधको सञ्जाल र प्रयोगकर्ताको खोजीलाई तीव्रता दिएका छन् । विद्यालय उमेर समूहका अधिकांश लागूऔषधको दुव्र्यसनीमा फसेको हुँदा उनीहरूले आफ्ना साथीहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

म्याग्दी सदरमुकाम बेनीमा स्कुले विद्यार्थीे समेत दुव्र्यसनीमा फस्न थालेको डरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रममा भेटिएको प्रहरीले जनाएको छ । विगतमा समेत लागूऔषधको प्रयोगमा नियन्त्रणमा लिइएका युवाहरुलाई निगरानी गरिरहेको अवस्थामा मंगलाघाटबाट एक महिना अगाडि ठूलो परिमाणमा लागूऔषधसहित प्रयोगकर्तालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्