‘अन्तर्राष्ट्रिय दातृनिकायकोे दबाबमा सरकार’



यमलाल भुसाल, बुटवल ।

अन्तर्राष्ट्रिय दातृनिकायको दबाबमा सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले अन्तर्राष्ट्रिय दातृ निकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने भन्दै दातृ निकायले दबाब दिन थालेपछि वाध्य भएर सरकारले मुलुकको आन्तरिक आम्दानी बढाउन निजी क्षेत्रलाई करलगायतका क्षेत्रमा कडाइ गरेको खुलासा गर्नुभयोे।

बुटवल उद्योग वाणिज्य संघको ६७औं स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृनिकायलाई खुसी बनाउनकै लागि करको दरमा बृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यवसायी परेको धारणा राख्नुभयोे।

राजश्व बढाउने नाममा निजी क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यवसायी धराशयी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यवसायीको मन जितेर अंगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो। नेपालमा औद्योगिक उत्पादनका लागि प्रर्याप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो।

भारतका लागि पूर्वराजदूतसमेत रहनुभएको पूर्वमन्त्री उपाध्यायले नेपाल भारतका बीच खुला सीमानाका कारण नेपालको मात्रै नभएर भारतका लागि समेत उत्तिकै समस्याको विषय भएको उल्लेख गर्नुभयो।

उहाँले नेपालमा पानीको प्रबन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिषापका रुपमा रहेको औंल्याउनुभयो। भारतसँगका दुई पक्षीय समस्या समाधानका लागि सरकारले कूटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले सीमा क्षेत्रमा कस्टम पोइन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाइ राख्नुभयो।

त्यस अवसरमा संघका पूर्वअध्यक्षहरु हीराप्रसाद श्रेष्ठ, नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष उज्जवल करजु, कार्यसमिति सदस्यहरु नश्विर पौडेल, मञ्जु भुसाल, कपडा वस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजुलगायतले चोरी पैठारीका कारण स्वदेशी उद्योगी व्यवसायीको व्यवसाय समस्यामा परेको बताउँदै सिमामा कडाइ गर्न सरकारसँग आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्