बस दुर्घटनामा ४३ घाइते



नेपाल समाचारपत्र, तनहुँ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा दुईवटा बस आइतबार बिहान एकापसमा ठोक्किई दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दुवै बसका गरी ४३ जनामध्ये ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चितवनको भरतपुर उपमहानगरपालिका-३ का रघुनाथ सापकोटा, सोही उपमहानगरपालिका-५ का ६८ वर्षीय रविलाल रेग्मी, सिताराम सापकोटा, वडा नम्बर १८ का ४६ वर्षीय ढकमणि महतोलाई चितवन मेडिकल कलेज र कर्णबहादुर थापा मगरलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो।

मुग्लिनबाट दमौलीतर्फ जाँदै गरेको ना५ख २८५६ नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको ना७ख २०६ नम्बरको बस एकापसमा ठोकिँदा धेरै यात्रु घाइते भएको एसपी सिलवालले बताउनुभयो।

घाइतेको दमौलीस्थित नेसनल एपोलो हस्पिटलमा १६ जना, दमौली अस्पतालमा ३ जना र रत्नहरी अस्पतालमा २४ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई दमौलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन र पोखरा पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्