महिना नपुग्दै भत्किएको सडकको भुक्तानी लिन चलखेल



सञ्जय कार्की, रौतहट ।

निर्माण सम्पन्न नहुँदै भत्किएको सडकको भुक्तानी लिन निर्माण व्यवसायी लागिपरेका छन्।

कमल कन्स्टझक्सन रौतहटले सरकारी अस्पताल अघिल्तिर बनाएको कालोपत्रे सडक एक महिना नपुग्दै ग्राबेलमा परिणत भएको हो। तर, निर्माण गर्नुको बदला बिल भुक्तानीका लागि चार महिनादेखि नगरपालिकाको कार्यालय धाइरहेको छ।

२०७६ कात्तिकमा निर्माण सम्पन्न गरेको सो कन्स्टझक्सनले उक्त सडक एक महिना नबित्दै विभिन्न स्थानमा उप्किएर ग्राबेलमा परिणत भएको छ भने सडकको दायाँबायाँको पनि भाग भासिएको छ। चन्द्रपुर नगरपालिकाको ५२ लाख ५० हजार ९ सय ९८ रुपियाँ ५९ पैसाको योजना रहेको उक्त सडक कमल कन्स्टझक्सनले बोलकबोलमा १९ लाख ६९ हजार ४ सय ५२ रुपियाँ ४५ पैसामा सकार गरेको थियो।

निर्माण कार्यमै गुणस्तरहीन सामग्री प्रयोग भएकाले महिना दिन नबित्दै भत्किएको भन्दै स्थानीय उपभोक्ताले नगरपालिकामा पुनर्निर्माणका लागि निवेदन दिएका थिए तर अहिलेसम्म सुनवाइ नभएको गुनासो उनीहरुको छ।

भत्किएको सडकको जुन अवस्थामा छ त्यही अवस्थामा निर्माण कम्पनीका प्रोपाइटर कमल राय यादवले बिल भुक्तानी गराउन लागिपरेको चन्द्रपुर नगरपालिका स्रोतले बताएको छ। तर, चन्द्रपुर नगरपालिकाले भत्किएको सडकको पुनर्निर्माणका लागि निर्माण कम्पनीलाई जानकारी गराएको छ। चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले भत्किएको सडक पुनर्निर्माण नगरी भुक्तानी गर्न असमर्थ रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्