चुनावी एजेन्डा फिर्केखोला संकटमा



विजय नेपाली, पोखरा ।

अँधेरी कुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटसम्म रहेको फिर्के खोला अतिक्रमण रोकिनुको कुरा त परै जाओस् उल्टै खोला नै पुरिने गरी बीच भागबाट तटबन्ध लगाइएको छ। पोखरा बाग्लुध्र जोड्ने सिदार्थ राजमार्गअन्तर्गत फिर्के पुल मुनिबाट नै आधा खोला ओगटेर अतिक्रमण गरेको देखिन्छ।

गत मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की-२ की सांसद विद्या भद्मराईलाई चुनाव जिताउन नेकपाले फिर्के खोलाको मापदण्ड नै घटाउन सहमति गरेको थियो। भूमाफियाको चटारोमा परेको फिर्के अतिक्रमण भइरहँदा उल्टै नेकपाले भने मापदण्ड घटाउँदै लैजाने भनी सहमति नै गरेको थियो।

यसो त फिर्के खोलाको मापदण्डभित्र मापदण्डविपरीत बनेका संरचना निकै छन्। नेकपाले चुनाव जित्नका लागि गरेको लिखित सहमति पत्र चुनावको मुखैमा बाहिर आएको थियो। त्यतिबेला नेकपाले फिर्के खोलाको मापदण्ड थप १ मिटर घटाउने सहमति गरेको थियो। फिर्के खोलाको मुद्दा लिएर चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइरालाले आप्नो भोट काट्ने देखिएपछि नेकपाले यस्तो सहमति गरेको खुलेको थियो।

पछि, नेकपाले फिर्के खोलाको मापदण्ड घटाउने सहमति गरेपछि कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो। नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीसहित विद्या भद्मराईलाई चुनाव जिताउने मोर्चाका कमान्डरसमेत रहेका नेकपाका अर्का नेता राजकाजी गुरुध्रको रोहवरमा नागरिक समाजका प्रतिनिधिसहितले गरेको उक्त सहमति अझै कार्यान्वयन भएको छैन।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले पनि नेकपाको यस किसिमको आश्वासनमा समन्वय गरेको पाइएको थियो। नेकपाले चुनावको बेला गरेको उक्त सहमति पालना नभएपछि फिर्केवासी आन्दोलित बनेका छन्। करिब २ सयको हाराहारीमा रहेका फिर्केवासीले नेकपाले आफ्नो सहमति पालना नगरेको भन्दै विरोध जनाएका हुन्।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद खगराज अधिकारी, प्रदेशसभा सदस्य प्रभा कोइराला, दामोदर बैरागी, वडा इकाइका अध्यक्ष शंकरबहादुर कोइराला, नगर इकाइका अध्यक्ष मदनकाजी श्रेष्ठलगायत नेकपाका नेताहरु फिर्केको मापदण्ड घटाउने सहमत गराउनकै लागि भूमाफियासँग छलफलसमेत गरेको नाम नखुलाउने सर्तमा स्थानीयले बताए।

फिर्केखोलाको संरक्षण गर्नुको साटो उल्टै मापदण्ड मिच्ने सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनसमेत गरेका छन्। तर, अतिक्रमण रोकिने तरखर अझै देखिएको छैन। पोखरा महानगरपालिकाले फिर्के अतिक्रमणविरुद्ध केही पहल गरे पनि त्यसको प्रभाव भने देखिएको छैन। नेकपाले नै चुनावी एजेन्डा बनाएपछि महानगरले न त रोक्न सकेको छ न त दिन नै।

अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झन्डै २ सय संरचना बनेका छन्। फिर्केमा बनेका संरचनामा सरकारी एवं गैरसरकारी संघ-संस्थादेखि नामी व्यक्तिसमेत छन्। उक्त क्षेत्रमा १ सय ९२ घरटहरा मापदण्डविपरीत छन्।

सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघ-संस्था रहेका छन्। यसभित्र कतिपय संरचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएको छ। तर, मापदण्ड मिचेर बसेकाले नै आफूहरुले सहमतिअनुसार नेकपाले काम नगरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्