पत्रकार पौडेललाई स्पार्कको एक लाख सहयोग



नेपाल समाचारपत्र, काठमाडौ ।

प्राकृतिक चिकित्सा क्षेत्रमा ख्याति कमाएको स्पार्क हेल्थ होमले रक्त क्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ। अस्पतालले २८औं वार्षिकोत्सवका अवसरमा लामो समयदेखि पत्रकारिता गरिरहेका पौडेललाई १ लाख रुपियाँ सहयोग गरेको हो।

पौडेल हाल सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ। पौडेलको उपचारका लागि ४० लाख खर्च लागने अनुमान गरिएको छ।

वार्षिकोत्सवको औपचारिक कार्यक्रममा लाग्ने खर्च बराबरको रकम पौडेलको उपचारमा सहयोग गरिएको अस्पतालका सञ्चालक हरिशरण रिजालले बताउनुभयो।

अस्पतालले पौडेलका सुपत्र अभिनव पौडेललाई सहयोग रकम हस्तान्तरण गरेको हो। सहयोग ग्रहण गर्दै पौडेलले हेल्थ होमले गरेको सहयोगले क्यान्सर पीडित एक पत्रकारको उपचारमा ठूलो राहत मिलेको बताउनुभयो।

त्यसैगरी, हेल्थ होममा १२ वर्षदेखि हेल्परका रुपमा सेवा गर्दै आएका कार्जी महर्जनलाई अस्पतालले ५० हजार सहयोग गरेको छ। महर्जन चार महिनादेखि पेटको क्यान्सरसँग लडिरहेका छन्।

स्पार्क हेल्थ होम नेपालमा प्रकृतिक उपचार पद्धतिबाट सेवा दिने पुरानो अस्पताल हो। २८ वर्षअघि पोलिक्लिनिकबाट शुरु भएको सेवा हालको अवस्थासम्म आउनुमा धेरैको साथ र हात रहेको रिजालले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्