मूल आरोपितलाई कारबाहीको दायरामा ल्याउन प्रदर्शन



काठमाडौ, (नेस) ।

विभिन्न घोटालाका मुख्य आरोपितलाई कारबाहीको दायरामा ल्याउन र संसद्मा प्रस्तुत विधेयकमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

वाइडबडी-न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मुख्य पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै शान्ति समाजले एक घन्टा प्रदर्शन गरेको हो।

यसैगरी, पछिल्लो संस्करणमा तत्कालीन मन्त्री एवं मन्त्रिपरिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिध्र प्रेस खरिद प्रकरणमा बाँस्कोटामाथि गहिराइमा पुगेर छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

यसैगरी, संसद्मा प्रस्तुत सूचना प्रविधिलगायत सञ्चारक्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा ज्यादा विधेयकमा निहित स्वतन्त्रताविरोधी प्राबधान हटाउन पनि शान्ति समाजले प्रदर्शनमार्फत पुनः ध्यानाकर्षण गराएको छ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईं, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारालगायत दर्जनौं अधिकारकर्मीको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्