रावा बैंक र कोषबीच सम्झौता



राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौतापश्चात सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध भएका रोजगारदाताले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकममध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताउनुभयो। कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पार्नुभयो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ सेवा दिने बताउनुभयो।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, सरोज बस्नेत, सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्