कर भनेकै धेरै कमाउनेबाट लिने हो: अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कर भनेको धेरै कमाउनेबाट लिने र कमाउन नसक्नेलाई दिने भएको बताउनुभएको छ। राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा आइतबार उहाँले करको विषयमा आफू कठोर भएकाले यसलाई बुझिदिन अनुरोध गर्नुभयो।

तल्लो वर्गका मानिसलाई उत्थान गर्न कमाउने वर्गबाट कर असुल गर्नुपर्ने अर्थमन्त्रीको दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो–‘कर भनेको धेरै कमाउनेबाट लिने र कमाउन नसक्नेलाई दिने हो।

तपाईंहरू कर छुटैछुट भन्नुहुन्छ। तपाईंहरूलाई कर छुट दिंँदा गरीब व्यक्तिले पाउँदैनन्। अर्थमन्त्रीको काम कर उठाउने र पुनर्वितरण गर्ने हो,’ उहाँले भन्नुभयो–‘तपाईंहरूले कर दिनु भएन भने गरीब कहाँ पुग्दैन। हामी तल्ला वर्गको उत्थाने गर्ने पार्टी भन्छौं। श्रमिकको पार्टी भन्छौं। गरीबको पार्टी भन्छौं। तिनीहरूको उत्थान कसले गरिदिने, हामीले नगरे कसले गर्ने ?’

कार्यक्रममा बोल्ने वक्ताले अर्थमन्त्रीलाई बीमा गर्दा दिँदै आएको कर छुटको दायरा बढाउन अनुरोध गर्नुभएको थियो। अहिले २५ हजारको सीमालाई बढाउन अनुरोध गर्दै गर्दा सबै क्षेत्रमा कर छुटमात्रै दिन नसिकेन अर्थमन्त्रीको भनाइ थियो। यसै सिलसिलामा उहाँले आफू करको विषयमा कठोरै रहेको बताउनुभएको थियो।

खतिवडाले बीमा कम्पनीले स्थानीय भाषा बोल्ने अभिकर्ता र स्थानीय भाषाकै प्रचार सामग्री बनाउन कम्पनीलाई अनुरोध गगर्नुभएको छ। स्थानीय भाषाको अभिकर्ता र प्रचार सामग्री नहुँदा सीमाका नेपालीले सीमापार गएर बीमा गराउने गरेको भन्दै त्यता पनि ध्यान दिन उहाँले अनुरोध गर्नुभयो।

विदेशमा दाबी भुक्तानी डिजिटलाइज भएर घटनास्थलमै दाबी पाउने अवस्थाको सिर्जनाको विकास भइसकेको हुँदा नेपालमा पनि यस विषयमा सोच्न उहाँले अनुरोध गर्नुभयो।

बैंकिङ क्षेत्रमा सम्पूर्ण बैंकलाई आफ्नो कर्जा प्रवाहको न्यूनतम ३ प्रतिशत कर्जा लघु कर्जा हुनुपर्ने व्यवस्था बढेर अहिले ६ प्रतिशतको कभरेज भएको उदाहरण दिँंदै खतिवडाले बीमा क्षेत्रमा पनि यस्तै पोलिसी आवश्यक परेको बताउनुभयो। उहाँले बीमा समितिलाई इंगित गर्दै सम्पूर्ण बीमा कम्पनीलाई सम्पूर्ण बीमाको ५ प्रतिशत लघुबीमा हुनुपर्ने व्यवस्था लागू गर्न अनुरोध गर्नुभयो।

नेपाल बीमक संघका अध्यक्ष शिवनाथ पाण्डले पनि बीमा गरेवापत कर छुट दिँदा राज्यलाई घाटा नहुने बताउनुभयो। कर छुट दिएमा बीमा कम्पनीले बीमा शुल्क बढाउने हुँदा कम्पनीको नाफा बढ्छ। यसले पनि राज्यको कर खुम्चिने भन्दा बढ्ने उहाँको धारणा थियो।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आफू समितिमा आएको तीन वर्ष बित्दा पनि संस्थाको पूर्ण सुधार गर्न नसकेको बताउनुभयो। विगत ५/७ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तथा एक्चुरियल मूल्यांकन आफ्नो बाँकी १० महिनाको कार्यकालमा पूरा हुने प्रतिबद्धता जनाउनुभयो।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कंँडेलले नेपालको सबैभन्दा पुरानो सरकारी बीमकको रुपमा संस्थानले इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुण्ँँ बीमा प्रिमियम जम्मा गर्न सफल भएको बताउनुभयो। प्रविधियुक्त सेवाको शुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट शुरू गरिएको भन्दै उहाँले भन्नुभयो–‘यसलाई आगामी वर्षमा तीव्र बिस्तार गरिनेछ।

केही वर्षयतादेखि रोकिएको लेखा परीक्षण बीमा समितिबाट स्वीकृत गर्ने प्रक्रिया अघि बढाउनेसंकेत देखिसकेको छ। आगामी वर्षको शुरूवातमै बिमांकीय मूल्यांकन स्वीकृति प्राप्त हुनासाथ बाँकी रहेका साधारण सभा सम्पन्न गर्ने छौं।’

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले अहिले मुलुकमा स्थापित कुल १९ वटा जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको जानकारी दिंँदै चालू आवको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोडमध्ये संस्थानको कोषमा २५ अर्ब ९६ करोड रहेको बताउनुभयो। सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोडमध्ये संस्थानको ५ अर्ब ६९ करोड रहेको भन्दै उहाँले भन्नुभयो – ‘यसरी हेर्दा कुल बीमा कोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ। त्यस्तै संस्थानमा कुल बीमालेख संख्या संख्या ६ लाख ८९ हजार रहेको छ।’

प्रतिक्रिया दिनुहोस्