माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाबाट यसै वर्ष विद्युत् उत्पादन



शिक्षा पन्त, लमजुङ ।

लमजुङको दोर्दीखोलामा निर्माणाधीन लिवर्टी इनर्जी कम्पनीद्वारा निर्मित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको ९६ प्रतिशत काम सकिएको छ। आयोजनाले आगामी चैतभित्र विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो।

आयोजनाको काम तीव्र गतिमा भइरहेकाले आगामी चैतको अन्तिम सातासम्ममा बिजुली उत्पादन हुने अनुमान गरिएको छ। वस्तीका अनुसार आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ढिलोमा चैत ३० गतेसम्म बिजुली उत्पादन गर्ने प्रतिबद्धता गरिसकेको छ।

‘नेपाल विद्युत प्राधिकरणले समयमै सबस्टेसन निर्माण सम्पन्न गरे चैत मसान्तबाट राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेश जोशीको भनाइ छ।

‘नेपाल विद्युत् प्राधिकरणले समयमै सबस्टेसन निर्माण सम्पन्न गरे चैत मसान्तबाट राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिन्छ। जोशीका अनुसार बाँध डिसेन्टर तथा गेट संरचना निर्माण कार्य ९५ प्रतिशत सकिएको छ।

हेडरेस टनेल, संरचना निर्माण र ‘सर्ज सफ्ट’ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। यस्तै ‘पेनस्टक पाइप’ का लागि सिभिल निर्माण, नहर, स्वीचयार्ड संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रूपियाँ रहेको छ। आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ।

आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रूपियाँ लाग्ने अनुमान गरिएको छ। कम्पनीले हाल बागलुङमा रहेको २४ दशमलव ६ मेगावाटको बडीगाडखोला र लमजुङमै रहेको १ दशमलव ६ मेगावाटको लोदोखोला जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ। आयोजनाको प्रभावित क्षेत्र (ढोडेनी, फलेनी) को विकासका लागि आयोजनाले ६ करोड रुपियाँ विनियोजन गरेको छ।

आयोजनाका प्रबन्ध निर्देशक डा.आत्माराम घिमिरेका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि स्थानीय र सर्वसाधारणका लागि २५ प्रतिशत शेयर निष्काशन हुने छ। स्थानीयलाई १५ करोड रूपियाँ (१० प्रतिशत)  र सर्वसाधारणलाई २२ करोड ५० लाख (१५ प्रतिशत) शेयर निष्काशन गरिने उहाँले बताउनुभयो। आयोजनाको २ हजार ६ सय २३ मिटर लम्बाइको सुरुङ निर्माण भइसकेको छ ।

२ हजार ८ सय ३४ मिटर लामो पेनस्टक पाइपको कार्य सकिएको छ । १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्वाइन रहने यस आयोजनामा हिउँदको समयमा प्रतियुनिट ८ रूपियाँ ४० पैसा र बर्षाको समयमा ४ रुपियाँ ८० पैसा रहने गरि प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत प्राधिकरण बीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको हो।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिरणले कीर्तिपुरमा निर्माण गर्न लागेको १३२ केभी डबल सर्किटको सबस्टेसनमा जोडिनेछ। प्रवद्र्धक कम्पनी लिवर्टीका सञ्चालक राम पाण्डेका अनुसार आयोजनाको बाँधको काम अन्तिम चरणमा पुगेको छ। यस्तै विद्युत् गृहको सिभिलतर्फको काम सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्