पालिकाहरुमा विप्लवको चन्दा आतंक, जनप्रतिनिधि थर्कामान



बाँके, (नेस) ।

प्रतिबन्धित विप्लव माओवादीले नेपालगञ्जमा चन्दा आतंक मच्चाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसहित २३ वटै वडामा विप्लव माओवादीले पत्र पठाएर चन्दा माग गरेपछि जनप्रतिनिधि थर्कामान भएका छन्।

विप्लव माओवादीले पत्र पठाएसँगै दैनिकजसो नै ‘हाम्रो पत्रको बारेमा के भइरहेको छ’ भन्दै फोन गरिरहेपछि जनप्रतिनिधिहरु तनावमा परेका हुन्। विप्लव माओवादीको पत्र आउदा चुपचाप बसेका जनप्रतिनिधिहरु निरन्तर फोन आउन थालेपछि अब के गर्ने भन्ने छलफलमा जुटेका छन्।

विप्लव माओवादीको पत्रलाई लिएर आइतबार साँझ नेपालगञ्ज उपमहानगरपालिकामा आकस्मिक बैठक नै बसेको स्रोतले बताएको छ। सबैजसो वडाध्यक्ष बैठकमा आएका थिए। नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, २३ वटै वडा कार्यालयमा पठाइएको पत्रलाई भिडाइएको थियो। सबै मिल्दो नै थियो। पत्रकाबारेमा सोधीखोजी गर्ने मोबाइल नम्बर पनि एउटै रहेको नाम नबताउने शर्तमा एक वडाध्यक्षले बताए।

बैठकपछि वडाध्यक्षहरु कसैलाई चन्दा दिन नसक्ने कुरामा एकमत भएका छन्। ‘अलिकति पाउने पारिश्रमिक पनि सर्वोच्च अदालतले रोकिदिएको छ। विकासका लागि आएको रकम चन्दा दिन सकिदैन, वडाध्यक्षहरुले भनेका छन्, वडाध्यक्षहरु कसैलाई चन्दा दिन सक्ने अवस्थामा छैनन्।’

प्रतिक्रिया दिनुहोस्