‘खानेपानी र विद्युत् महसुल मेरै कार्यकालमा घट्छ’



नेपाल समाचारपत्र, पाँचथर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् र खानेपानीको महसुल अझै पनि नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई परिमार्जन गरिने बताउनुभएको छ।

पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका मौलिक हकसँगै अत्यावश्यक आवश्यकतामा पर्ने यी वस्तुको शुल्क समायोजन गर्न सरकार प्रतिबद्ध रहेको टिप्पणी गर्नुभयो।

सडक, विद्युत् र खानेपानीको पहुँच प्रत्येक नेपालीको घरसम्म पु¥याउन सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो। सुख्खा क्षेत्रका रूपमा स्थापित पाँचथरको कुम्मायक गाउँपालिकामा पर्ने तत्कालीन यासोक, स्याब्र्रुम्बा र रानिगाउँका सर्वसाधारणलाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको खानेपानी आयोजना प्रधानमन्त्री ओलीको ६९औं जन्मोत्सवको अवसर पार्दै उद्घाटन गरिएको हो।

पम्पिङ सिस्टमबाट तमोर नदीमा मुहान बनाएर पहाडको टाकुरामा ल्याइएको उक्त खानेपानीबाट ३ हजार ४३ घर परिवार लाभान्वित हुने बताइएको छ।

५३ करोड लागतमा निर्माण भएको यो आयोजनाको प्रक्रिया २०६८ सालदेखि शुरू गरिएको थियो। यो आयोजना लिफ्ट सिष्टमबाट निर्माण भएको देशकै ठूलो आयोजना हो।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश–१ का मुख्य मन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलगायत धेरैको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्