अमेरिकी राष्ट्रपति चुनावमा पुनः रुसी हस्तक्षेप विवाद



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी गुप्तचर अधिकारीहरुले एक पत्रकार सम्मेलनमा सांसदहरुलाई सचेत गराउँदै रुस डोनाल्ड ट्रम्पलाई पुनःराष्ट्रपतिमा निर्वाचित गराउन २०२० को प्रचार अभियानमा हस्तक्षेप गरिरहेको जानकारी दिएका छन्।

उक्त बयानबाट रुष्ट भएका राष्ट्रपतिले आफ्ना गुप्तचर प्रमुख फेरेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ।

गत फेब्रुअरी १३ मा भएको सदनको सत्रका बारेमा थाहा पाएपछि ट्रम्पले राष्ट्रिय गुप्तचर इकाइ डीएनआईका कार्यवाहक निर्देशक जोसफ मेगुआयरसग असन्तुष्टि पोखेको वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो।

मेगुआयरका सहयोगी सेल्बी पीयरसनले सांसदहरुलाई रुस ट्रम्पका लागि फेरि अमेरिकी चुनावमा हस्तक्षेप गरिरहेको बताएका थिए। ट्रम्पले यो सूचनालाई डेमोक्र्याट्सले आफूविरुद्ध प्रयोग गर्ने बताएको समाचारमा उल्लेख गरिएको छ।

राष्ट्रपति उक्त सत्रमा ट्रम्पमाथि महाभियोगको जाँच प्रक्रियाको नेतृत्व गरिरहेका डेमोक्र्याटिक प्रमुख एडम सिफको उपस्थितिलाई पनि असन्तुष्ट रहेको न्युयोर्क टाइम्सले जनाएको छ। मेगुआयर डीएनआईको पदमा स्थायी रूपमा नियुक्तिका लागि पहिलो चयन परेका थिए। तर ट्रम्प गोपनीय चुनाव सुरक्षा जानकारीका बारेमा सुने पनि मेगुआयरसँग रुष्ट भएको बताइएको छ।

ट्रम्पले गत बुधबार मेगुआयरको स्थान जर्मनीमा अमेरिकाका राजदूत तथा आफ्ना निकट ५३ वर्षीय रिचर्ड ग्रेनेललाई जिम्मेवारी सुम्पेको घोषणा गरेका थिए।

यसैबीच अमेरिकी चुनावमा फेरि एकपटक रुसको हस्तक्षेपको चर्चा चलेपछि डेमोक्र्याट पार्टी उम्मेदवारका आकांक्षी बर्नी सेन्डर्सले रुसका तर्फबाट आफूलाई मद्दत पुर्याउने प्रयासको आलोचना गरेका छन्। उनले प्रष्ट शब्दमा मस्कोलाई अमेरिकी चुनावबाट टाढा हुन भनेका छन्।

क्यालिफोर्नियाको बेकर्सफिल्डमा राष्ट्रपति पदका दावेदार सेन्डर्सले रुस अमेरिकीमा विभाजन ल्याउन र लोकतन्त्रलाई कमजोर पार्न चाहेको उल्लेख गर्दै त्यसको समर्थन वर्तमान अमेरिकी राष्ट्रपतिले गरिरहेको आरोप लगाए। आफू उनीहरुको प्रयास र अन्य कुनै पनि विदेशी शक्तिविरुद्ध उभिरहने उनले बताए।

यसअघि सन् २०१६ को राष्ट्रपति चुनावमा पनि ट्रम्पको पक्षमा रुसले सामाजिक सञ्जालहरुमार्फत् हस्तक्ष्ँेप गर्दै चुनावी नतिजालाई प्रभावित पारेको आरोप लागेको थियो। रुसको हस्तक्षेप आफ्नो पक्षमा पार्न ट्रम्पका सहयोगीले रुसी अधिकारीहरुसँग छलफलसमेत गरेको कुरा बाहिर आएको थियो। राष्ट्रपति निर्वाचित भइसकेपछि पनि रुसी हस्तक्षेपलाई लिएर ट्रम्प प्रशासन लामो समय उक्त मुद्दामा अल्झिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्