संरक्षणको अभावमा पजारुको चैत्य गुम्बा



वासुदेव शर्मा

जाजरकोटको छेडागाड नगरपालिका ८ घोगी पजारुमा रहेका धार्मिक चैत्य गुम्बा प्राचीन कालदेखि रहेका देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। आकर्षक, ऐतिहासिक देवलहरूले मानिसको मनै लोभ्याउने गरेका छन्। ती देवलको संरक्षण नहुँदा सरकारले पर्यटकीय क्षेत्र निर्माणका लागि चासो दिएको छैन।

कहिले उत्पत्ति भएका हुन् देवल
१३औं शताब्दीमा जाजरकोटमा भोटेहरूले शासन गरेको पाइन्छ, त्यतिबेला उनीहरूले नै देवल बनाएको जाजरकोटको इतिहास बारे जानकार केदारबहादुर शाहको भनाइ रहेको छ। पूजाआजा गर्नलाई ढुंगा कँुदेर हातले निर्माण गरेका कलात्मक चैत्य गुम्बा, देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। सरोकारवालाहरूले चासो नदिँदा गुम्बा अर्थात् देवल मासिने खतरा बढेको छ। ७ सय वर्ष अगाडि स्थापना भएका देवलले पर्यटकको आकर्षण बढाएका छन्।

गुम्बाको जग्गा अतिक्रण तीव्र
तीन रोपनीमा रहेका देवल वरिपरिको जग्गा सरकारले चासो नदिदाँ स्थानीयले अतिक्रमण गर्दै गएका छन्। सरकारले संरक्षण नगर्दा यो गुम्बा मासिने खतरामा पुगेको स्थानीय खडक बीसीले बताउनुभयो। देवलको खोज अनुसन्धानलगायत प्रचारप्रसार गरी संरक्षण गर्न सके धार्मिक पर्यटकीय आकर्षकको केन्द्र बन्न सक्ने स्थानीय बीसीको भनाइ रहेको छ। देवल क्षेत्रको संरक्षणका लागि स्थानीय नागरिक तथा सरकारवाला निकाय संरक्षणमा लाग्नुपर्ने देखिन्छ। स्थानीय सरकारले बौद्ध धर्म अनुयायीका भावनाको कदर गर्दै संरक्षणका लागि तत्काल निर्णय गरेर अतिक्रमण भएका क्षेत्रका संरक्षणको प्रक्रिया अगाडि बढाउन बढाउनुपर्छ।
देवल र गुम्बाहरू स्थानीय सरोकारवाला र बौद्धमार्गी तथा पर्यटन क्षेत्रसँग सम्बद्ध निकायले गम्भीरतापूर्वक लिनुपर्ने हो। उनीहरूले पर्यटकीय धार्मिक क्षेत्रको विकास निर्माण गरी समृद्ध नगरपालिका, गाउँपालिका निर्माण गर्ने अभिलाषा बोकेमा देवल क्षेत्रको उन्नति निश्चित छ।

स्थानीय सरकारले पहल गर्नुपर्छ
गाउँको शोभा बढाउने, पर्यटकको सम्भावना बोकेको यस गुम्बालाई संरक्षणलगायत विकास निर्माण गरी सुशासनयुक्त नगरपालिका निर्माण गर्ने जिम्मा लिएको स्थानीय सरकारका रूपमा रहेको छेडागाड नगरपालिकाले संरक्षणको जिम्मा लिनुपर्ने स्थानीयले बताउने गरेका छन्। गुम्बाको संरक्षण गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्ने, स्थानीयको आयस्रोतमा वृद्धि हुने, स्थानीय सरकारको सम्पत्तिका रूपमा परिचित हुने, साविक पजारु गाउँ विकास समितिको समग्र विकासको ढोका खुल्नेछ। देवल क्षेत्र ओझेल पर्दै गएपछि यसको मौलिकता र महत्व पनि हराउँदै जाने खतरा पुगेको छ।

किन पुग्न सक्दैनन् पर्यटक गुम्बामा
खलंगादेखि एक दिनको पैदल दूरीमा रहेको यस क्षेत्रमा उकालो चढ्नुपर्ने भएपछि सहज रूपमा पर्यटक त्यहाँ पुग्न सक्ने अवस्था छैन। देवल तथा गुम्बामा पुग्नका लागि यातायातका साधन नजाने भएका कारण यो क्षेत्र ओझेलमा पर्दै गएको हो।
गुम्बामा पुग्नका लागि सहज मार्ग नभएकैले देवल क्षेत्र ओझेलमा परेको स्थानीय खडक बीसीको धारणा छ।
करिब ७ सय वर्षअगाडि निर्माण भएका चैत्य गुम्बा तथा देवलहरूको संरक्षणको जिम्मा लिएका सरकारका निकायले चासो नलिँदा बाहिरी जिल्लाका मात्र नभएर जाजरकोटवासीलाई नै देवलको महत्व र ऐतिहासिकताका बारेमा जानकारी छैन।
‘सरकारले सडक पहुँच र अन्य आवश्यक पूर्वाधारहरू निर्माण नगर्दा गुम्बा महत्वहीन जस्तै बनेको छ।’ –स्थानीय गोरखबहादुर बुढा बताउनुहुन्छ।
जिल्लाका अन्य पर्यटकीय क्षेत्रभन्दा बढी सुन्दर, कलात्मक, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने चैत्य, गुम्बा तथा देवलहरू रहेको क्षेत्रका बारेमा जिल्लावासी नै अनभिज्ञ रहनु लाजमर्दाे कुरा हो।

थोरै बजेटले काम हुन सकेन
उक्त क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यले स्थानीय सरकार र पर्यटन बोर्डले १० लाख रकम विनियोजन गरेको भए पनि रकम सदुपयोग हुन सकेको छैन। सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम हुन सकेको छैन। ३ रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीन र आकर्षक बनावटले त्यहाँ पुग्ने जो–कोहीलाई पनि मोहित पर्ने गरेको पाइन्छ।
उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार तथा सम्बद्ध निकायप्रति नागरिकले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

स्थानीय सरकारको चासो
छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य, गुम्बा तथा देवल क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आफूहरूले विस्तृत योजनाको तयारी गरेको बताउनुभएको छ।
‘जाजरकोटकै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको पजारुको घोगीमा अवस्थित देवल क्षेत्रमा पुग्नका लागि सडक यातायातको पहुँच पु¥याउन पहल भइरहेको छ।’ –उहाँले भन्नुभयो। सरकार मात्र एक्लैले संरक्षण सम्भव नभएकाले जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसारका लागि स्थानीय नागरिक समाज, राजनीतिक दल, शिक्षक वुद्धिजीवीलगायत सबै पक्ष लाग्न जरुरी देखिन्छ।
पर्यटकको सम्भावना बोकेका गुम्बा, देवल, मठ–मन्दिरलगायत पौराणिक धार्मिक क्षेत्र, ओझेलमा परेका कलात्मक आकृतिका ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको यस क्षेत्रमा कहिल्यै कमी नहुनेमा दुईमत छैन।
पर्यटन वर्ष भव्य रूपले मनाउने सरोकारवालाहरूले उद्घोष गरे पनि पर्यटकीय क्षेत्रका रूपमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको उचित मूल्यांकन र व्यवस्थापनमा स्थानीय सरकारले बेलैमा ध्यान नदिँदा यस्ता क्षेत्रले आफ्नो पहिचान गुमाउने प्रायः निश्चित छ।

प्रतिक्रिया दिनुहोस्