झुलाघाट नाकामा कोराना सहायता कक्ष स्थापना



नेपाल समाचारपत्र, बैतडी

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस चेकजाँचका लागि सहायता कक्ष स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तले रूपमा सहायता कक्ष स्थापना गरेको हो।

झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकहरूको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण हुने उहाँले बताउनुभयो।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताउनुभयो।

कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो। सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरूको इन्फ्रारेड थर्मामिटरले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताउनुभयो।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ हुने उहाँले बताउनुभयो। अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्