थाइल्यान्डसँग नेपालको पर्यटन प्रवद्र्धनको तुलना



कृष्णहरि बास्कोटा

नेपालले पर्यटन वर्ष २०२० मनाइरहेको छ। यसलाई सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य हो। प्रस्तुत सन्दर्भमा मेरी धर्मपत्नीको बैंककमा आयोजित तालिममा सहभागी हुने सन्दर्भमा म पनि साथै लागेर एक हप्ताको थाइल्यान्डको भ्रमण गरें। यस भ्रमणको सन्दर्भमा थाइल्यान्डको पर्यटन प्रवद्र्धनबाट नेपालले सिक्न सक्ने केही क्षेत्रहरू पहिचान गरेकाले तिनको जानकारी प्रवाह गर्न यो आलेख तयार गरेको हुँ।

म थाइल्यान्डको भ्रमणमा निस्किन हवाई टिकट खरिद गर्नुपर्ने भयो। यसका लागि थाई एयरवेजसँग सम्पर्क गर्दा प्रमोसनल फेयर लागू भएको जानकारी भयो। यसबाट मैले बुझें, नेपालमा भ्रमण वर्ष सफल पार्न जति पनि विश्वका मुलुकबाट नेपालमा हवाई जहाज आउँछन्, ती कम्पनीका उच्च पदाधिकारीहरूसँग यो वर्षभरि नेपाल उडानका लागि सस्तो दरको टिकटको व्यवस्था गरिदेऊ भनी अनुरोध गर्नुपर्ने रहेछ।

यसका लागि परराष्ट्र मन्त्रालय सक्रिय भएर नेपालमा रहेका राजदूतहरूसँग अन्तरक्रिया गर्नुपर्छ। नागरिक उड्डयन प्राधिकरणले नियामक निकायका हैसियतले नेपालमा कार्यालय खोलेर हवाई सेवा सञ्चालन गरेका कम्पनीका उच्च अधिकारीलाई यस कुराको आग्रह गर्नुपर्छ। नेपाल वायु सेवा निगमले आप्ना मित्र हवाई कम्पनीहरूसँग कुराकानी गर्न सक्छ। यी सबै कामको संयोजनका लागि पर्यटन मन्त्रालयमा एउटा उच्चस्तरीय कमिटी नै गठन गरेर परिणाम आउने गरी कार्यप्रक्रिया अघि बढाइनुपर्छ। आखिर संसारका घुमन्तेको पहिलो सर्त सस्तो हवाई टिकट नै हो।

नेपालमा धेरै मानिस प्रायः सबै कुरालाई नकारात्मक ढंगले व्याख्या गर्न अभ्यस्त हुँदै गैरहेका छन्। यसको मलजल कुरा काट्ने बानी, आप्mनो हितभन्दा अर्काको अहित चाहने मनोवृत्ति र सञ्चारकर्मीको स्कुलिङले गरिरहेको जस्तो लाग्छ। प्रस्तुत सन्दर्भमा पर्यटन प्रवद्र्धनमा एयरपोर्टमा सेवा, सुविधा र व्यवहारले निकै ठूलो भूमिका निर्वाह गर्दछ। मेरो भ्रमणमा टिकट र पासपोर्ट हेरेर प्रहरीले एयरपोर्ट प्रवेश दिए।

त्यसपछि मेसिनले सामान जाँच ग¥यो र बडी चेक गर्ने वाकथु्रबाट भित्र प्रवेश गरें। यी काम सहज र सरल भएको पाएँ। बैंकक एयरपोर्टमा रहेझैँ फुलबडी रिड गर्ने आधुनिक मेसिन खरिद गर्न आग्रह गर्दछु। यसबाट काठमाडौंबाट उडान भरेका यात्रुले अन्य मुलुकको ट्रान्जिटमा थप शंकाको घेरामा पर्नु नपर्ने मेरो अभिमत छ। त्यसपछि हवाई कम्पनीहरूले टिकट र पासपोर्ट हेरेर बोर्डिङ पास दिने प्रणालीमा पनि सहजता पाएँ।

यसमा नेपालको विमानस्थल सानो भयो। राम्रो डोरी बाँधेर यात्रुहरूलाई लाइनमा राख्ने र सानो आकारको सामान राखेर गुडाउने गाडाहरू नयाँ खरिद गर्नुपर्ने अनुभूति गरें। यसै बखत विदेशी पर्यटकलाई नेपालको स्मरण गराउने सानो पुस्तिका वितरण गर्न र नेपाली यात्रुलाई स्वदेश फर्किंदा साथमा ल्याउन पाउने सामानको बारेमा जानकारी दिन पाए सुनमा सुगन्ध हुने सुझाव छ। त्यसपछि अध्यागमनको अनुमति लिन लाइनमा बस्ने प्रणाली अनुकरणीय पाएँ। बैंककमा आगमन र प्रस्थान फाराम भर्नुपर्नेमा नेपालमा कुनै फाराम भर्नु नपर्ने प्रणाली स्वयंमा उत्कृष्ट छ।

नेपालमा हवाई जहाज चढ्नुपूर्व पर्खिने स्थानमा रहेका ड्युटी फ्री सपमा बेस्सरी व्यापार हुने वातावरण बनाउन जरुरी छ। त्यस क्षेत्रमा पिउने पानी, शौचालय र इन्टरनेटको सुविधा विस्तार गर्न पनि जरुरी ठानेको छु। बैंककमा तुरुन्तै फ्री वाइफाई सेवा हासिल गर्न सकिन्छ। बैंकिङ सुविधा पनि निकै सहज छ। सफाइमा नेपालको एयरपोर्ट पनि कम छैन। बस्ने मेचहरूमा केही व्यापारिक मेच राख्न सकिन्छ।

जसमा १५ मिनेटको मसाज सेवा, एक घण्टा ढल्केर निदाउने सुविधालगायत थप गर्न सकिन्छ। समष्टिमा नेपालको विमानस्थलबाट उडेर जाने सन्दर्भमा कुनै कठिनाइ नरहेको अनुभूति गरें। यो नेपालीका लागि गर्वको विषय हो। यस्ता सन्देश प्रत्येक नेपालीले अनुभूति गरी सार्वजनिक गर्दा मात्रै पनि नेपालमा पर्यटन प्रवद्र्धन हुन्छ। आप्mनै मुलुकको उछितो काढ्ने काम बन्द गरौं। आप्mनै खुट्टामा बन्चरो नहानौं।

थाई विमानमा चढेदेखि आतिथ्यताको वर्षा शुरू भयो। नेपाल वायु सेवा निगमबाट पनि यस्तै सेवा प्रवाह गरौं। हवाई जहाज सफा राखौं। जहाजमा मीठो खाना खुवाऔं। यात्रुहरूसँग आदरपूर्वक व्यवहार गरौं। बैंककको एयरपोर्टमा पाइला राख्नेबित्तिकै हातेझोला राखेर गुडाउने सानो गाडा पायौं। नेपालमा पनि यस्तो व्यवस्था गरौं। एयरपोर्टमा हिँड्न नसक्नेका लागि विद्युतीय स्कालेटरले दौडाउने रहेछ।

नेपालमा यस्तो प्रबन्ध छैन। हुन त हाम्रो एयरपोर्ट त्यति लामो छैन। बैंकक एयरपोर्टमा पाइलैपिच्छे शौचालय र पिउने पानीको व्यवस्था भएको पाएँ। यसको अनुशरण हामीले पनि गर्नुपर्छ। भिसा लिने र भन्सारले सामान जाँच गर्ने सन्दर्भमा नेपालको एयरपोर्टको अवस्था पनि सुधारिएकै छ। विदेशी मुद्रा सटहीमा पनि हामीकहाँ खासै असजिलो छैन। हामीले पनि एयरपोर्ट ट्याक्सीको प्रबन्ध गरेका छौं।

यसमा बैंकक एयरपोर्टको व्यवस्थाबाट केही सुधार गर्न सकिन्छ। बैंकक एयरपोर्टबाट शहरसम्म पुग्ने रेलसेवा र निजी क्षेत्रको लगानीमा निर्मित टोलट्याक्स तिर्ने बाटो छ। नेपालमा यसको कमी छ। कम्तीमा एयरपोर्टबाट ठमेलसम्म पुग्ने स्काइट्रेन शीघ्र निर्माण गर्न जरुरी छ। यसै गरी एयरपोर्टबाट सिंहदरबार, पाटन र कलंकीसम्म पुग्ने टोलट्याक्स उठाउने गरी बुट प्रणालीमा आकाशे सडक मार्ग निर्माण गर्नुपर्छ। यसै सन्दर्भमा ठाउँ–ठाउँमा चौबाटोमा आकाशे पुल निर्माण गरेर ट्राफिक जाम हटाउनुपर्छ। यसै सन्दर्भ पारेर काठमाडौंभित्र ब्युटिफिकेसनको प्याकेजमा समेत काम गर्न सार्वजनिक आह्वान गर्दछु।

बैंकक बजार रातभरि खुल्ने रहेछ। हाम्रो भाटभटेनी सुपरमार्केट भनेझँै प्रितुनाममा रहेको बिग सी सुपरमार्केट राति २ बजेसम्म सञ्चालन हुने रहेछ। सेभेन इलभेन, फेमिली मार्ट नाम गरेका चेनको रूपमा सञ्चालित ग्लोसरी सपहरू चौबीसै घण्टा सञ्चालन हुने रहेछ। हामी बैंककमा बसेको गोल्डन हाउस नामक गेस्ट हाउस पनि चौबीसै घण्टा खुल्ने रहेछ। यसरी काठमाडौंमा पर्यटक करिब १२ घण्टा सुत्ने र १२ घण्टा घुम्ने गर्दछन् भने बैंककमा पर्यटकहरू २४सै घण्टा घुम्ने रहेछन्। राति घुम्दा सुरक्षाको कुनै जोखिम महसुस नहुने रहेछ।

ट्याक्सीले सिटी टुर गराउँदा विभिन्न जेम्स पसलमा पु¥याउने र ट्याक्सी ड्राइभरलाई इन्धन तथा ग्राहकलाई कफी खुवाएर व्यापार गरिँदो रहेछ। वास्तवमा अर्काको खल्तीमा रहेको रकम तान्न किन सजिलो हुन्थ्यो ? बैंककको सडकको खाना पनि त्यत्तिकै लोकप्रिय रहेछ। फुटपाथभरि सडक छन्, पर्यटकले सामान किनिरहेका छन्। खै कसरी हो, बैंककमा नगरपालिकाले फुटपाथ व्यापारीको सामान नखोस्ने रहेछ, बाटो पनि तिनको कारणले जाम नहुने रहेछ।

यसरी सबै कुराको सन्तुलन मिलाउनुपर्ने रहेछ भन्ने कुरा अनुभवका आधारमा सुझाउन चाहन्छु। बैंककका केही क्षेत्रको रात्रिजीवन हाम्रो संस्कृतिसँग नमिल्दो छ रे भन्ने सुनें, तर बैंककलगायतका बजारमा खासै कुनै प्रकारको आलोचना गर्नुपर्ने व्यवहारको अनुभव गरिनँ। यसरी पूर्णतः सुरक्षाको प्रत्याभूतिसहित असल व्यवहार र कार्यका लागि शहरबजार चौबीसै घण्टा खुल्ला हुनुपर्ने रहेछ।

यसपटकको थाइल्यान्ड भ्रमणमा फुकेट पनि गएँ। बैंककबाट सो स्थानमा जान हवाई जहाजबाट करिब डेढ घण्टा लाग्ने रहेछ। एयर एसियाको बजेट टिकट किनें। सो टिकटको एकतर्फी मूल्य नेपाली रु. ३ हजार थियो। हवाई जहाजमा पानी पनि दिएनन्। तर यो टिकट मलाई निकै सस्तो लाग्यो। त्यहाँ नेपालमा झैँ विदेशी र स्वदेशीलाई हवाई जहाजको टिकट फरक–फरक नहुने रहेछ। यो कुरा नेपालले सिक्नुपर्ने ठानेको छु।

हवाई जहाजको समयको कुरै नगरौं। एक मिनेटको पनि फरक परेन, तोकिएको समयमा उड्यो, तोकिएकै समयका ओर्लियो। फुकेट विमानस्थलबाट राति भएकाले शहरमा रहेको होटल जान प्राइभेट ट्याक्सी लिएँ। आठ सय भाट प¥यो। फर्किंदा समय थियो, यसर्थ मिनिबस चढें। एयर कन्डिसनको बसले एक सय भाटमा मोटामोटी उत्तिनै समयमा एयरपोर्ट ल्याइपु¥याइदियो।

हामीले पनि यस्तो छनौटको सुविधा दिनुपर्छ। फुकेट शहरको एकदिन चक्कर मार्ने इच्छा भयो। एउटा ट्याक्सी रिजर्भ गरें। सो ट्याक्सीले धित मरुन्जेल घुमाइदियो। मैलै नै भैगो म थाकें, होटल पुर्याइदेऊ भनेपछि मात्रै शहर भ्रमण छोट्याए। यसरी ट्याक्सी ड्रइभरलाई पनि तालिम दिनुपर्ने अनुभव गरें।

फुकेट शहरबाट फी फी आइल्यान्डको भ्रमणमा निस्किएँ। पानीजहाजमा गरिएको स्वागत, जहाजभित्र सञ्चालित पसल र पानीजहाजमा रहेका गाइडले गरेको व्याख्याले मन नै प्रसन्न भयो। यसरी पर्यटन प्रवद्र्धन गर्न पाइला–पाइलामा रहेकाहरूलाई पर्यटकमैत्री बनाउनुपर्ने रहेछ भन्ने अनुभूति गरें। सो टापुमा पनि अनेक प्रकारका व्यापारमा अनेकौं सकारात्मक हत्कण्डा अपनाएको पाएँ।

त्यस क्षेत्रको चारदिने भ्रमण सकेर बैंकक फर्किएँ। एयरपोर्टको तोकिएको ढोकाबाट बाहिरिने क्रममा पब्लिक ट्याक्सी स्ट्यान्ड पुगें। लाइनमा बसें। टिकट लिएर तोकिएको ट्याक्सीमा चढें। ट्याक्सीले मिटर चढायो। तोकिएको स्थानमा पुगेपछि रकम दिएँ। कतै पनि ठगिएको अनुभूति गरिनँ। अन्त्यमा, विशाल सुवर्णभूमि एयरपोर्टको सबै सुविधा उपभोग गर्दै काठमाडौं फर्किएँ।

यसरी सेवाबाट अवकाश भएको स्वतन्त्र समयमा खुशीका लागि गरिएको यात्रा पूर्णतः खुशीमै समाप्त भयो। यति विधि र प्रक्रिया नेपालको पर्यटन व्यवसायमा पनि भित्र्याउन सके नेपालमा बर्सेनि २० लाख, ५० लाख पर्यटक सजिलै आउन सक्ने निक्र्यौलमा पुगेको छु।

प्रतिक्रिया दिनुहोस्