उद्यमसँग जोडिदै २ सय २० युवा



हेटौंडा, (नेस) ।
बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले युवालाई उद्यमसग जोड्ने कार्यक्रम ल्याएको छ । प्रदेशका युवालाई छ महिना खाने र  बस्ने सुविधासहित तालिम दिने र प्रविधि हस्तान्तरण गरेर कामसग जोड्न लागिएको हो ।
पहिलो चरणमा २ सय २० युवालाई ११ प्रकारका तालिम दिने गरी काम थालिएको छ । तालिमपछि युवालाई काममा थप सहजता हुनेछ । विशेषगरी युवालाई विभिन्न सीपमुलक तालिमसगै कामसग जोड्न लागिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले बताउनुभयो ।
 तालिमका लागि तयारी पूरा भएको छ । मन्त्रालयले मकवानपुर र काठमाडौंमा हाइटेक नर्सरी स्थापना गर्ने भएको छ । हाइटेक नर्सरीमा फलफूल र विभिन्न जातका बिरुवालाई हुर्काएर रोप्न तयार पारिने छ । दुई जिल्लामा स्थापना गरिएका नर्सरीबाट प्रदेशका सबै जिल्लामा बिरुवा वितरण गर्ने तयारी गरिएको छ । वनका परम्परागत नर्सरीभन्दा उत्कृष्ट नर्सरी स्थापना गर्न लागिएको मन्त्री नेपालले बताउनुभयो ।
प्रदेश सरकारले मकवानपुरको मनहरीमा कागज उद्योग स्थापनाका लागि तयारी थालेको छ । निजी क्षेत्रसगको सहकार्यमा उद्योग स्थापना गर्न लागिएको हो । विदेशबाट कागज आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न यहीं उद्योग स्थापनाको प्रयास गरिएको उहाले बताउनुभयो । कागज उद्योग स्थापनाका लागि दुई अर्ब रुपियाभन्दा बढी लगानी अनुमान गरिएको छ ।
प्रदेश सरकारले आफ्नै औद्योगिक क्षेत्र निर्माणका लागि पनि काम थाल्ने भएको छ । औद्योगिक क्षेत्र निर्माण गरेर विभिन्न उद्योग स्थापनामा प्रोत्साहित गरिने भएको हो ।
यसैबीच बागमती प्रदेश सरकारले प्रदेशमा ४७ वटा प्रहरीचौकी भवन निर्माण जारी राखेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण शुरु गरेकामध्ये सात वटा प्रहरीचौकी भवन निर्माणको काम सकिएको छ ।
मन्त्रालयले गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष गरी करिब दुई अर्ब लागतमा निर्माण शुरु गरेकामध्ये सात वटा प्रहरी भवन निर्माण भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
प्रदेशका उपत्यकाबाहेक १० जिल्लामा ४७ वटा प्रहरीचौकी निर्माण शुरु गरिएको छ ।
मन्त्रालयले निर्माण गर्ने शान्तिपार्कका लागि कार्यविधि तयार हुदै गरेको उहाले बताउनुभयो । कार्यविधि पास भएपछि काम शुरु गर्ने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्