जनप्रतिनिधि आएपछि सुशासन कायम भएको छ



स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई न्याय सम्पादनलगातका धेरै विषयको जिम्मेवारी दिएको छ। स्थानीय सरकारको जिम्मा लिएपछि स्थानीय तहमा कामको बोझ थपिएको छ। संस्कृति र सम्पदाले भरिएको ललितपुर महानगरपालिकाले अन्य स्थानीय तहको तुलनामा विकास निर्माणका दर्जनौं कामअगाडि बढाएको दाबी गरेको छ। हालसम्म महानगरले गरेका गतिविधि विकास निर्माण, नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन महानगरपालिकाले के कस्तो योजना तय गरेको छ। महानगरले हालसम्म कस्तो काम सम्पन्न गरेको छ। महानगरवासीले सम्झन योग्य काम के भए, यी र यस्तै विषयमा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालसँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंश…

ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचत भएपछि के कस्ता कामलाई प्राथमिकता दिनुभएको छ ?

आउने वैशाख ३० गते हामी निर्वाचित भएर आएको पनि ३ वर्ष पूरा हुँदै छ। तीन वर्ष पूरा हुन करिब दुई महिना मात्रै बाँकी छ। यस अवधिमा जति काम हुनुपथ्र्यो त्यति गर्न सकेनौं। यसकारण यो बितेको अवधिलाई एउटा जनप्रतिधि भएरै हेर्ने हो भने पनि म चाहिँ सन्तुष्ट छैन। सन्तुष्ट नहुँदा नहुँदै पनि केही उपलब्धि चाहिँ भएका छन्। वडावासीले केही राहत महसुस गर्न पाएका छन्। जनप्रतिनिधि आएपछि सुशासन कायम भएको छ। जनप्रतिनिधिले प्रत्यक्ष जनतासँग सम्पर्क गरी सेवाग्राहीको सरोकारको सम्बोधन गर्ने वातावरण बनेको छ। विकास विकास निर्माणलाई तीव्रता दिने क्रममा दीर्घकालीन हित र स्थायित्वलाई ध्यान दिएका छौं।

पहिलाको तुलनामा हेर्ने हो भने हाल भएका कामलाई उपलब्धिको रूपमा लिनुपर्छ। जनप्रतिनिधि नहुँदा पहिला स्थानीयवासीको गुनासो पोख्ने ठाउँ थिएन। हाल हामीलाई पोख्नुहुन्छ। त्यसलाई समाधान गर्ने काम गर्छौं। विकास निर्माणका काममा पनि केही न केही परिवर्तन भएकै छ। जनप्रतिनिधि आएपछि भएका कामहरू गुणस्तरीय छन्। सडक कालोपत्रे गर्दा चालिस एमएमभन्दा कम गुणस्तरको गर्न नपाइने व्यवस्था गरेका छौं। हिजोका दिनहरूमा आज कालोपत्रे ग¥यो भोलि नै भत्कने अवस्था थियो। हाल गरेको कालोपत्रे त कमसेकम पनि ६/७ वर्ष त टिक्छ नि। एउटै काममा, एकै ठाउँमा बर्सेनि पैसा खर्च गर्नुपर्ने अवस्था हटाउनेतर्फ लागेका छौं। हामीले तीन वर्षअगाडि गरेको पिच अहिलेसम्म पनि भत्केको छैन। खानेपानी र ढल निकासका लागि नखन्ने हो भने अवको ६/७ वर्षसम्म पनि त्यहाँ केही हुँदैन। यो पनि प्रगति हो नि।

महानगरले विकास निर्माणको कामलाई तीव्रता दिएकै हो त ?

देशमा संघीय व्यवस्था लागू भएपछि हामी पहिलोपटक स्थानीय सरकारको जनप्रतिनिधिको हैसियतमा निर्वाचित भयौं। अर्को लामो समयसम्म जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा धेरै कुराहरू सुधार गर्नुपर्ने थियो। कतिपय ऐन, कानुनहरू निर्माण गर्न बाँकी थियो। केन्द्रीय तहबाट समायोजन भएर आउने कतिपय कर्मचारीहरू यसै वर्ष मात्रै आए। त्यसकारण पनि जनअपेक्षाअनुरूप विकासको कामअगाडि बढ्न सकेको अवस्था थिएन। तर, हाल भने विकास निर्माणका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। हामी यसका लागि क्रियाशील भएर लागि परेका छौं। स्थानीय सरकारको मातहतमा पर्ने सडकको मर्मत स्तरोन्नति गर्ने काम भइरहेका छन्। हरियाली प्रवद्र्धनका लागि सडकका छेउछाउमा वृक्षरोपण गरिएको छ। जीर्ण अवस्थामा रहेका पोखरीको मर्मत, सम्भार गर्ने कामहरू अगाडि बढिरहेका छन्। यसैगरी, सबै कामहरू सहजताका साथ अगाडि बढिरहेका छन्।

महानगरले खुला क्षेत्रको संरक्षण गर्न नसकेको आरोप छ नि? खुला क्षेत्र संरक्षण गर्न कस्तो योजना अघि सार्नुभएको छ ?

हामीलाई २०७२ सालको भूकम्पले पनि खुला ठाउँ चाहिन्छ, भनेर सम्झाइ दिएको छ। सडक चौडा र फराकिलो हुनु, खुला ठाउँको संरक्षण गर्नुपर्ने अत्यन्तै आवश्यक छ। हामीसँग पर्याप्त खुला ठाउँ छैन। २० वर्ष जनप्रतिनिधि नहुँदा यसै त खुला स्थानहरू संरक्षण हुन सकेनन्। अनि हाम्रो शहरी विकासको योजनामा पनि खुला ठाउँको संरक्षण गर्नुपर्छ भन्ने अवधारणाले प्राथमिकता पाएको अवस्था थिएन। ललितपुर मात्रै नभई उपत्यकाका हरेक ठाउँमा आवश्यकताअनुसार खुला ठाउँ पाउन सकिँदैन। कतिपय विद्यालयका खाली ठाउँहरूलाई पनि लिजमा दिइयो। कम्पेक्सहरू निर्माण भए। यो अत्यन्तै दुःख लाग्दो कुरा हो। तर, हामीहरू जनप्रतिनिध भएर आइसकेपछि खुला क्षेत्र संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिएका छौं। हामीले अब कुनै पनि खुला क्षेत्र लिजमा दिँदैनौं ,भएका र देखिएका सबै खुला क्षेत्रलाई संरक्षण गर्नेछौं।

बुँदागत रूपमा भन्नुपर्दा हालसम्म कति खुला क्षेत्रको संरक्षण भएको छन् ?

खुला क्षेत्र संरक्षणको कुरा गर्दा हामीहरूले धेरै काम त गर्न सकेका छैनौं। जावलाखेलको सार्वजनिक क्षेत्रमा रहेका पसल हटाएर त्यहाँ खुला क्षेत्र कायम गर्न लागि अहोरात्र खटिएका छौं। हामीले ठ्याक्कै यति खुला स्थान संरक्षण ग¥यौं भनेर गर्व गर्ने ठाउँ त छैन, तर एक वडा एक खुला चौरको अवधारणालाई आत्मसात् गर्दै बजेट विनियोजन गरेका छौं। अब केही वर्षमा सबै वडा कार्यालयले अनिवार्य रूपमा एउटा खुला क्षेत्रको संरक्षण गरेर त्यसलाई वर्षौंसम्म जोगाएर राख्नु छ।

विद्यालयको खाली जग्गा लिजमा दिएको विषयमा तपाईंको धारणा के छ ? लिज खारेज गर्न सक्नुहुन्छ?

तपाईंले मदन स्मारकको कुरा उठाउन खोज्नुभएको हो। हामीले त्यसको लिज त खारेज गर्न सक्दैनौं। त्यो हाम्रो मातहतमा पर्दैन। जनप्रतिनिधि नभएको बेलामा लिजमा दिइएको हो। तर, संरचना बनाउने कुरामा नक्सा पास गर्नका लागि हामी दिँदैनौं। विद्यालयका खुला क्षेत्रहरूलाई लिजमा दिने कुरा हाम्रा लागि मान्य छैन। यसले बालबालिकाको मनोरञ्जनको अधिकार खोस्छ । उनीहरूको खेल्न पाउने अधिकारको हनन हुन्छ। त्यसकारण म जनप्रतिनिधि भएसम्म यस्ता कुराको विरोध गर्नेछु। अब यसलाई कसरी बचाएर राख्ने भन्ने विषयमा लाग्नेछु।

अहिलेसम्मको अवधिमा जति काम हुनुपथ्र्यो त्यति गर्न सकेका छैनौ। यसकारण यो वितेको अवधिलाई एउटा जनप्रतिधि भएर हेर्ने हो भने सन्तुष्ट हुने ठाउं छैन। सन्तुष्ट नहुँदा नहुँदै पनि केही उपलब्धि चाहीँ भएको छ। वडावासीले केही
राहत महशुस गर्न पाएका छन्। जनप्रतिनिधि आएपछि सुशासन कायम भएको छ।

नेपाल भ्रमण वर्षको तयारी कस्तो छ ? ललितपुरमा पर्यटक भित्याउने योजना कस्तो छ ?

नेपाल भ्रमण वर्ष सफल बनाउने हामी हरेक नेपालीको दायित्व हो। यो अभियानमा ललितपुर महानगरपालिका चुक्दैन। ललितपुर महानगरपालिकाले भ्रमण वर्ष सफल बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू गरिरहेका छौं। तर, भ्रमण वर्ष घोषणा गर्नका लागि अलि चाँडो पो भयो कि भन्ने लागिरहेको छ। २०७२ सालको भूकम्पले पारेको असर, त्यसको असरबाट बिग्रेका संरचनाहरू पुनर्निर्माण सम्पन्न भई नसकेको अवस्थालगायतका कारणले पनि भ्रमण वर्ष घोषणा गर्न हतारो पो भयो कि भन्ने लागिरहेको छ। तर, पनि हामी बनिसकेका संरचनालाई देखाएरै भए पनि हामी सफल बनाउन लागि पर्नेछौं। पाटन दरबार क्षेत्रमा लाइटेनिङ व्यवस्थापन गर्ने, इलेक्ट्रिकल भेहिकल भित्याउने लगायतका कामलाई ध्यान दिएका छौं। त्यति मात्र होइन विदेशी पर्यटक नेपाल आउँदा सधैँ ललितपुरलाई सम्झिरहून् भन्ने हाम्रो धारणा छ। त्यसैले, सोहीअनुसार काम गरिरहेका छौं। पुरानो बस्तीको विकासमा लागेका छौं। शहरमै होमस्टेको व्यवस्थापन गर्ने तयारीमा छौं। वहाः, बही मठ–मन्दिलाई सिगार्ने काम गरिरहेका छौं। त्यति मात्रै होइन ललितपुरमा पर्यटक प्रवेश गर्दा केही दिन बिताएर मात्रै जाने वातावरण तयार गरिरहेका छौं।

सम्झनालायक कुनै काम गर्नुभएको छ ?

अब मैले जनप्रतिनिधि भएपछि यो गरें, त्यो गरें भन्नेभन्दा पनि यो काम राम्रो भयो भनेर जनताले प्रत्यक्ष अनुभूति गर्नुप¥यो। हामीले काम त धेरै ग¥यौं। तर, जनताले प्रत्यक्ष देखेर भन्नुप¥यो। मैले यो काम गरें भनेर सन्तुष्टि लिने हालको समय पनि होइन। एउटा ३५औं कलानगरीका रूपमा ललितपुरलाई घोषणा गराउन सफल भयौं। अर्को सिटी नेटको ३८औं कार्यसमितिको बैठक ललितपुरमा गराएर राम्रै प्रभाव पार्न सक्यौं। विपद् व्यवस्थापनका लागि वडा–वडामा विपद् व्यवस्थापन कोष खडा गरिएको छ। विभिन्न मित्रराष्ट्रहरूसँग विपद् व्यवस्थापनका अनुभवहरू आदानप्रदान गर्ने कामहरू पनि भएका छन्। यो पनि त महत्वपूर्ण उपलब्धि नै हो। अब यस विषयमा हामीले कला क्षेत्रलाई नै जोड्छौं। ३५औं कलानगरी घोषणा भएपश्चात् हामीलाई यो अवसर सहज बनेको छ। हामी ललितपुरको कलालाई विश्वमा परिचित गराउन योजनाबद्ध रूपमा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै निरन्तर क्रियाशील भएर लागि पर्नेछौं।

योजना बाँडफाँड गर्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएको छ कि छैन ?

यो विषयमा हामीमा खासै त्यस्तो विवाद छैन। योजनाको विषयमा चाहिँ हाम्रो कुनै पनि विवाद र विमति छैन। सहज नै छ। सबैले सोचेअनुसार विकासको काम र बजेट बाँडफाँड भएको छ।

वडाका जनप्रतिनिधि र तपाईंबीचको सम्बन्ध नि ?

हामीकहाँ यो विषयमा समस्या छैन। वडाध्यक्षबाट पूर्ण सहयोग र समन्वय भइरहेको छ। कार्यपालिकाभित्र पनि पक्ष र प्रतिपक्षको व्यवहार देखिँदैन। हाम्रा लागि यो गौरवको कुरा हो। उहाँहरूको भूमिका समन्वयकारी र सहज नै रहेको पाएकी छु। सबैको सहकार्यले नै अहिले सजिलै विकास निर्माण काम गर्न सफल भएका छौं। तपाईं न्यायिक समितिको अध्यक्ष हुनुहन्छ ? महानगरमा कस्ता मुद्दा बढी आउने गरेका छन्।
हामीकहाँ घरजग्गा र साँध-सिमानाका मुद्दाहरू बढी आउँछन्। धेरै आउने भनेको चाहिँ साँध-सिमाना र झै–झगडाकै हुन्। नयाँ मुलुकी देवानी संहिता आएपछि सम्बन्ध विच्छेदका मुद्दा हामीकहाँ आउँदैनन्। यस वर्ष ७२ वटा मुद्दा दर्ता भएका थिए। त्यसमा ३६ वटा फस्र्योट भइसकेका छन् बाँकी पनि फस्र्योटका लागि निरन्तर लागिपरेका छौं। मुद्दाको विषयमा हालसम्म हामीले त्यस्तो दबाब झेल्नु परेको छैन। हामी त्यस्तो दबाबलाई स्वीकार पनि गर्दैनौं। न्यायमूर्ति बनेर इजलासमा बसिसकेपछि पीडकलाई सजाय र पीडितलाई न्याय दिनु नै हाम्रो मुख्य दायित्व हो हामी त्यसलाई भुल्दैनौं।

महानगरमा कति विद्यालय छन्। शिक्षामा के सुधार भएको छ ?

हामीसँग ४० वटा सामुदायिक विद्यालय छन्। निजी विद्यालय यीभन्दा धेरै छन्। शिक्षाको सुधारका लागि हामी लागिपरेका छौं। तर, संविधानले स्थानीय शिक्षाको अधिकार स्थानीय तहलाई दियो तर व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन। केन्द्र र प्रदेशले यसलाई छोडेको छैन। केन्द्र र प्रदेशको ऐन पूरा नभएका कारण हामीले कार्यविधिकै भरमा काम चलाइरहेका छौं। अरू कुरामा हामी सुधारका लागि क्रियाशील छौं। तर, महानगरले आफ्नो कार्यक्षेत्रभित्र रहेका विद्यालयलाई अन्य स्थानीय तहको भन्दा उत्कृष्ट बनाउन चाहन्छौं। शिक्षा विभागले विभिन्न योजना ल्याएर अघि बढिरहेको छ। पहिलो त सरकारी विद्यालयको अवस्था कस्तो छ भन्ने विषयमा अध्ययन गरिरहेका छौं। उत्कृष्ट विद्यालयले गरेका राम्रा कामलाई अन्य विद्यालयमा सिकाउने तयारी पनि गरिरहेका छौं। समग्रमा भन्नुपर्दा महानगरको शिक्षाको अवस्था सुधारोन्मुख रहेको छ।

प्रसंग बदलौं, हाल तपाईं पीएचडी गर्दै हुनुहन्छ ? काम गर्ने कि पढ्ने ? पढ्दै गर्दा जनताको काम गर्न सकिन्छ ?

शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ। पीएचडी भनेको रिसर्च हो। मज्जाले नपढिकन रिसर्च गर्न सकिंदैन। मैले नेपाल संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्दै छु। पीएचडीका लागि अबको दुई वर्षको अवधि छ। पढ्नु भनेको नयाँ ज्ञानको खोजी गर्नु हो। विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा पाैरस्य संस्कृत भन्ने विषयमा पीएचडी गर्दै छु। पढाइसँग सँगै जनताको काम गर्न नसकिने भन्ने हुँदैन, मज्जाले सकिन्छ। सबै नेता भनौं वा व्यक्तिले पढाइ र आफ्नो कामलाई सँग–सँगै अघि बढाएका छन्। पढाइसँगै काम अघि बढाउन झन् सहज भएको महसुस गरेकी छु।

नमुना महानगर बनाउने योजनाबारे सोच्नुभएको छ ?

७ सय ५३ वटा स्थानीय तहहरूमध्ये ललितपुर चाहिँ नमुना बनोस् है भन्ने हाम्रो धारणा छ। नमुना महानगर बनाउनका लागि आवश्यक पर्ने तत्वहरूको पहिचान गर्न हामीले ललितपुर महानगरपालिकाभित्रका विभिन्न अग्रज व्यक्तित्वहरू, प्रशासनिक क्षेत्रमा काम गरिसकेका व्यक्तिहरूसँग समन्वय, बौद्धिक जमातसँग सहकार्य र समन्वय गरिरहेका छौं।

अबको निर्वाचनमा तपाई कुन पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ।

त्यो त समयक्रमले बताउला समयको मागअनुसार नै हुन्छ। हाल म यही पदमा जान्छु भन्न चाहन्नँ। तर, राजनीतिमा लागेपछि निर्वाचनमा उठौँला र जनताको चाहनाअनुसार काम गरौँला भन्ने सबैलाई लागेको हुन्छ। म पनि यो विषयमा अछूतो रहँदिन, मेरो कामको मूल्यांकन गर्ने जनता छन्। त्यसपछि मसँग जोडिएको पार्टी छ। ती निकायले गरेको निर्णयबाट म पछि हट्न कदापि सक्दिनँ।

उपमेयर भएपछि गर्न नसकेको कामका बारेमा केही बताइदिनुहोस् न ?

उपमेयर भएर पनि गर्न नसकेका कामहरू त धेरै नै छन्। हामीले सोचेजस्तो नहुँदो रहेछ। हिजो हामी निर्वाचित हुँदा तीन महिनामा सबै काम गर्छौं जस्तो लाग्थ्यो। तर, यहाँभित्रका वास्तविकता अर्कै हुँदो रहेछ। हिजोको अवस्था र आजको अवस्था धेरै फरक छ। हिजो हामीले सोचेका कुरा हाइपोथेटिक रहेछ। त्यो सहजै हुनसक्दो रहेनछ। धेरै समय लाग्ने रहेछ। तर, ती कुरा सम्पन्न गर्नुपर्छ भनेर म चाहिँ लागि रहेकी छु।

प्रतिक्रिया दिनुहोस्