“नमुना नगरपालिका बनाउँछु”



१८ वर्ष शिक्षक भई जनमोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका टेकबहादुर रावल २०५२ सालमा माओवादीको जनयुद्धमा समावेश हुनुभयो। बदलिँदो राजनीतिक परिवर्तनपछि स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको नगर प्रमुखमा उहाँ निर्वाचित हुनुभयो। प्रस्तुत छ रावलसँग स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रमका विषयमा नेपाल समाचारपत्रका वासुदेव शर्माले गरेको कुराकानीको सारांश ः

तपाईं किन शिक्षण पेसा छाडेर राजनीतिमा लाग्नुभएको ?

घरनजिकैको विद्यालयमा शिक्षण पेसा गरिरहेको थिएँ। त्यतिबेला राष्ट्रिय जनमोर्चाको लहर थियो। म पनि जनमोर्चामा शिक्षकको तर्फबाट काम गर्दै गएँ। जनमोर्चाबाट जनयुद्धको थालनी भएपछि प्रशासनले निगरानी राख्यो। सरकारको फन्दामा पर्नुभन्दा भूमिगत हुँदै राजनीति यात्रामा लागेँ।

घर–परिवार, समुदायबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
घरपरिवारबाट राम्रो सहयोग पाएको थिएँ, पाइरहेको छु। समुदायबाट पनि राम्रो सहयोग पाएर यहाँसम्म आउन सफल भएको हँु।

स्थानीय चुनावमा जनतासँग के–कस्ता वाचा गर्नुभएको थियो ?
चुनावमा मलाई भोट दिनुहोला, तपाईंका आवश्कता पूरा गर्छु भनेर कुनै वडामा पनि जनतासँग विकासलगायत अन्य कुराको आश्वासन र वाचा गरिनँ। पार्टीको निर्देशन र आफ्नो स्वविवेकअनुसार काम गरिरहेको छु।

शैक्षिक क्षेत्रबाट राजनीतिमा आउनुभएको तपार्इंले यस क्षेत्रमा के गर्नुभएको छ ?
शिक्षालाई रुपान्तरण गरी भौतिक, शैक्षिक सुधार गरी शिक्षा क्षेत्रलाई फराकिलो बनाउन नगरपालिकामा अभियान सञ्चालन गरेको छु। विद्यालय सुधार नभए कुनै पनि कुरा परिवर्तन सम्भव नहुने देखेपछि विद्यालयलाई सुधार गरी बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाभित्रका १४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउने लक्ष्यका साथ घोषणा गरेर कार्यक्रम सञ्चालन गरेका छौं। नमुना विद्यालयमा शिक्षाको गुणस्तर परिवर्तन विद्यार्थीको बसाइ परिवर्तन, शिक्षकको बानी व्यहोरा परिवर्तन भएको छ। शिक्षा क्षेत्रमा केही सुधार भएको महशुस गरेको छु। शिक्षा क्षेत्रमा हुने विकृति विसंगतिलाई अन्त्य गर्नका लागि यो अवधारणा ल्याएको हँु।

उत्पादन सँगसँगै किसानले उत्पादन गरेको वस्तु सहज रूपमा बजारीकरण गर्न सकून् भन्ने उद्देश्यले सबै वडालाई सडक सञ्जालमा जोड्न विकासका योजना सञ्चालन गरेका छौं। केही वडामा सडक नपुगेकाले आगामी आर्थिक वर्ष सबै वडालाई सडक सञ्जालले जोड्ने छौं।

नमुना वस्ती विकासमा पनि यहाँले जोड दिनुभएको छ। के देखेर नमुना वस्ती छनौट गर्नुभयो ?

स्वास्थ्य र शिक्षा नै मानिसको प्रमुख आधार हो। मानिसलाई स्वस्थ राख्न गाउँ समुदायलाई रुपान्तरण गरी समाजमा परिवर्तन ल्याउने प्रमुख माध्यम सरसफाइ भएकाले नमुना विद्यालय र नमुना वस्तीको अवधारण ल्याएर कार्यक्रम सञ्चालन गरेका छौं। स्वच्छ वातावरण निर्माण गरी मानिसलाई स्वस्थ राख्न नमुना वस्तीका केही सूचक राखी अगाडि बढेका छौं। बजेट मात्र खर्च गर्ने प्रवृृत्तिको अन्त्य गरी विकास योजनाहरूमा श्रमदानमा जोड्नलाई ५० प्रतिशत नगरपालिका र ३० प्रतिशत जनताले प्रत्यक्ष काम गर्ने गरी नमुना वस्ती विकासमा अगाडि बढेको हो। जनताको चेतनालाई अभिवृद्धि गर्न यो कार्यक्रम ल्याएका हौं।

कृषि व्यवसायलाई बलियो बनाउन तथा किसानलाई आत्मनिर्भर बनाउन तपाईंले केही गर्नुभएको छ कि छैन ?

कृषि व्यवसायलाई विकास र विस्तार नगरी जनताको जीवनस्तरसँगै आय–आर्जनमा सुधार नहुने भएकाले कृषि शाखाको पहलमा नगरपालिकाभित्रका सबै वडामा माटो परीक्षण गरी कृषि कार्यक्रम सञ्चालन गरेका छौं। नगरपालिकाको १, २, र ४ वडामा मौरी पकेट, ३ नम्बर वडामा सुन्तला पकेट, वडा नम्बर ५ मा मकै पकेट, वडा नम्बर ६ मा आलु पकेट, वडा नम्बर ७ र ८ मा धान पकेट, वडा नंम्बर ९ देखि १३ सम्म माथिल्लो भागमा स्याउ पकेट तल्लो भू–भागमा लसुन खेती, बाख्रा पालनका पकेट क्षेत्र विस्तार गरेका छौं। वडा नम्बर २ मा भैंसी पालन, पकेट क्षेत्र, वडा नम्बर ६ मा ओखर उत्पादन हुने भएकाले ओखर पकेट क्षेत्र घोषणा गरी नगरपालिकाबाट बजेट विनियोजन गरेको छु। दातृ निकायको सहयोगमा संघ–संस्थाहरूले कृषिका कार्यक्रम ल्याए नगरपालिकाले मापदण्डअनुसार सञ्चालन गर्न लगाई किसानलाई आत्मनिर्भर गराउने हो। पकेट क्षेत्रका माध्यमबाट किसानहरूको आय–आर्जनमा सुधार ल्याउने हो।

विद्यालय सुधार नभए कुनै पनि कुरा परिवर्तन सम्भव नहुने देखेपछि विद्यालयलाई सुधार गरी बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाभित्रका १४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउने लक्ष्यका साथ घोषणा गरेर कार्यक्रम सञ्चालन गरेका छौं।

उत्पादन वृद्धि सँगसँगै मोटर बाटो महत्वपूर्ण छ। विकास निर्माणमा यहाँले के गर्नुभएको छ ?

उत्पादन सँगसँगै किसानले उत्पादन गरेको वस्तु सहज रूपमा बजारीकरण गर्न सकून् भन्ने उद्देश्यले सबै वडालाई सडक सञ्जालमा जोड्न विकासका योजना सञ्चालन गरेका छौं। केही वडामा सडक नपुगेकाले आगामी आर्थिक वर्ष सबै वडालाई सडक सञ्जालले जोड्ने छौं। सबै वडामा शुद्ध पिउने पानी, विद्यालय भवन, विद्युत् लाइन नभएका वडामा सोलार बत्ती वितरण गरी उज्यालो बनाएको छु। नगरपालिकाको पहुँच नपुग्ने विकास योजनाहरू केन्द्र सरकार, प्रदेश सरकारको सहयोग लिएर ठूला बढी लागतका योजना सञ्चालन गरेको छु।

गत वर्ष नलगाडमा महोत्सवको आयोजना गर्नुभयो। कसका लागि महोत्सव गर्नुभएको हो ?

स्थानीय पुराना कला तथा संस्कृतिको संरक्षण गर्न, कृषकले उत्पादन गरेका वस्तुलाई प्रदर्शन गरेर किसानको हौसला वृद्धि गर्नका लागि महोत्सवको आयोजना गरिएको हो। नगरपालिकाले शुरु गरेको महोत्सव यस वर्ष उद्योग वाणिज्य संघलाई जिम्मा दिएका छौं।

तपाईंले भने जस्तै समृद्ध नगर बनाउन के गर्दै हुनुहुन्छ ?

समृद्ध नगर निर्माणका लागि मैले योजना बनाएको छु। नागरिकलाई जागरुक गर्न गाउँ–वस्तीमा गएको छु। नगरपालिकाले घोषणा गरेका कार्यक्रमहरू कार्यन्वयन गर्दै जानेछु। नागरिकका सोच–विचारमा चेतना अभिवृद्धि गरेर दैनिक जीवनमा आईपर्ने समस्या आवश्यकताअनुसार समाधान गर्दै जानेछु। सम्भवतः मेरो कार्यकालमा समृद्ध नगर बनाउँछु।

प्रतिक्रिया दिनुहोस्