घोगामा दाना नलागेपछि बोट काटेर घाँस



गोकुल घोरसाइने, बारा 

बारामा लगाइएको हिउँदे हाइब्रिड मकैको घोगामा दाना नलागेपछि किसान चिन्तामा परेका छन्। चन्दन, श्रेष्ठ, सिपीलगायत जातका मकैमा दाना नलागेपछि चिन्तामा परेका किसानले बोट काटेर गाईबस्तुलाई घाँस हाल्न थालेका छन्।

जिल्लाको सयौं किसानले हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैमा दाना नलाग्ने समस्या देखापरेको हो। घोगामा लाग्नुपर्नेमा बोटको टुप्पा (धानजमरा) मा दाना लागेपछि यहाँका किसान अचम्ममा परेका छन्। ‘जमरामा साना घोगा जस्तोमा दाना लागेको छ’, जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वाका किसान दिनेश गिरीले भन्नुभयो– ‘यसरी जमरामा दाना लागेको पहिलोपटक देखियो।’

दुःख गरेर लगाएको बालीमा फल नलाग्दा धेरै किसानको लगानी खेर गएको र मल, बीउ खरिदका लागि साहुसँग काढेको ऋण अब कसरी चुक्ता गर्ने होला भनेर चिन्ता थपिएको उहाँले बताउनुभयो।

जितपुर–सिमरा, कलैया उपमहानगरपालिका, करैयामाई, कोल्हबीलगायतका विभिन्न स्थानमा किसानले लगाएको मकैमा घोगा नलागेर बोटको टुप्पामा दाना लाग्ने समस्या देखिएको छ। जितपुरसिमरा–१८ मा मात्रै २ सय हेक्टरभन्दा बढी जमिनको मकैमा यस्तो समस्या पाइएको छ।

किसानले रोपेको मकैमा दाना नलागेपछि ज्ञान केन्द्रले कारण पत्ता लगाउन अधिकृत राजवंशी चौरसिया र कृषिविज्ञ गेनालालप्रसाद मण्डलको टोली निरीक्षणमा खटाएको छ।

प्राविधिकको टोलीले शुक्रबार किसानको खेतमा पुगेर स्थलगत निरीक्षण गरेको थियो। ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले तापक्रम अनुकूल नहुँदा मकै बालीमा समस्या आएको बताउनुभयो।

‘फूल फुल्ने बेलामा १५ डिग्रीभन्दा बढी तापक्रम आवश्यक हुन्छ’, उहाँले भन्नुभयो–‘तापक्रम कम भएर पोलेन मरेपछि परागसेचन हुन नपाएर मकैमा दाना लाग्न सकेन।’

कात्तिक १५ देखि मंसिर अन्तिमसम्म रोप्नुपर्ने मकै समयभन्दा अगावै लगाएकाले यस्तो समस्या आएको हुन सक्ने उहाँको भनाइ छ।
बाराका किसानले असोजमा धान काटेलगत्तै मकै लगाउने गर्दै आएका छन्। त्यतिबेला मौसम अझै चिसो हुने र बालीमा यसरी फल नलाग्ने समस्या आउन सक्ने कृषि प्रसार अधिकृत चौरसियालेल बताउनुभयो।

अन्य क्षेत्रको क्षतिको विवरण पनि संकलन भइरहेको र अध्ययन पूरा भएपछि उपल्लो निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका उपायको खोजी गरिने उहाँले बताउनुभयो।

विशेष गरी चन्दन, श्रेष्ठा, सिपी, ३१२२, विराट ९२, सुपर ९५१ लगायतका मकैको जातमा धानजमरामा दाना लागेको पाइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्