खप्तड गोल्ड कप फुटबल : एपिएफ क्वाटरफाइनलमा प्रवेश



धनगढी। 

यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को आज भएको खेलमा विभागीय टिम एपिएफले ए डिभिजन टिम एनआरटीलाई पराजित गरेको छ ।

जितसँगै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको ठूलो धनराशी पुरस्कारको यो प्रतियोगिताको आजको खेलमा न्यूरोड टिम एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफलाई जित दिलाउन रमेश दङ्गाल र विकु तामाङले एक÷एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले एक गोल गर्न सके । खेलको ३९औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । दोस्रो हाफमा भने एपिएफ खेलमा फर्कियो । खेलको ६१औँ मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरीमा पु¥याए । सुदीप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७औँ मिनेटमा वैकल्पिक खेलाडी विकुले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए ।

कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा विकुले गोल गरेका थिए । खेलको ‘म्यान अफ दि म्याच‘ एपिएफ रमेश दङ्गाल घोषित भई पुरस्कृत भए । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार नवजनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्ने छन् । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप फुटबल प्रतियोगिता हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्