बुढासुब्बा गोल्डकपबाट आयोजक धरान फुटबल क्लब बाहिरियो



सरोज यादव, विराटनगर

अन्तिम तीन मिनेट सम्मालिन नसक्दा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपबाट बाहिरीएको छ । गतवर्षको फाइनलमा टाइब्रेकरमा पराजित हुँदै उपाधि गुमाएको धरानले यसवर्ष पनि उद्घाटन खेलमा टाइब्रेकरबाटै पराजित भएर प्रतियोगिताबाट बाहिरीएको छ । धरान रंगशालामा भएको खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतले टाइब्रेकरमा ४–२ गोल अन्तरले धरानलाई पराजित ग¥यो ।

कर्साङ २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको धरान फुटबल क्लबले पहिलो हाफको ३४ औं मिनेटमा अग्रता लिएको थियो । धरानकालागी विक्रम लिम्बूले दिएको लामो पासलाई सुनिल खड्काले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

पहिलो हाफमा धरानले युनाइटेड कर्साङलाई दबाबमा राखे पनि दोस्रो हाफमा कर्साङले उत्कृष्ट कमब्याक गरेको थियो । दोस्रो हाफको ३७ औं मिनेटमा कर्साङका सिद्धान्त क्षेत्रीले गोल गरे । कर्साङका करण राईले दिएको लामो पासलाई मुस्किलले नियन्त्रणमा लिएका सिदान्त क्षेत्रीले विपक्षी दुई डिफेन्स अलमलिदा गोल एरियाबाट सुन्दर गोल गरे ।

खेलको दोस्रो हाफको नवौं मिनेटमा सिदान्त क्षेत्रीले प्रहार गरेको बल पोष्ट नजिकबाट बाहिरीयो । त्यस्तै १६ औं मिनेटमा सिदान्तको प्रहार फेरी पोष्ट नजिकैबाट बाहिरियो । खेलको पहिलो हाफमा धरानका विदेशी खेलाडी फोफोनाले मिलाइ दिएको पास गोल एरियामा अनमार्क रहेका सुनिल खड्काले गोल गर्न सकेनन् ।

त्यस्तै दोस्रो हाफमा धरानका फोफोनाको सशक्त प्रहार सोझै गोल किपरको हातमा पुगेको थियो । टाइब्रेकरमा कर्साङका बेरिन प्रधान, प्रशान्त राई, सिदान्त क्षेत्री र प्रयास प्रधानले गोल गरेका थिए । त्यस्तै धरानका मनिष गुरुङ र हेमन्त थापाले गोल गरेका थिए भने विक्रम लिम्बूको प्रहार कर्साङका गोल किपर राजा बुर्मानले रोकिदिएका थिए । त्यसतै मनोज राईको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच कर्साङका वाङ्देन तामाङ घोषित भए । उनलाई नगद रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै खेलमा उत्कृष्ट गोल गर्ने खेलाडी घोषित हुँदै धरानका सुनिल खड्काले ५ हजार नगद पुरस्कार प्राप्त गरे । भोली नेपाल पुलिस क्बल काठमाडौ र मेचि नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्