६ महिनामै ५५ जनाले गरे आत्महत्या



गणेश घिमिरे, इलाम

विश्वकै लागि चिन्ताको विषय बनेको आत्महत्याले नेपालमा पनि ठूलो असर पारेको छ। आत्महत्या देशकै लागि गम्भीर समस्या बन्दै गएको पनि हो। आत्महत्या नियन्त्रणमा धेरै प्रयासहरु भइरहे पनि त्यो सफल बन्न सकेको छैन।

नेपालमा वार्षिक सरदर ६ हजारले आत्महत्या गरेको एक तथ्यांकले देखाउँछ। यस हिसाबले सरदर एक जिल्लामा ७५ जनाले आत्महत्या गर्ने गरेका छन्। देशमै आत्महत्या बढिरहँदा इलाम भने त्यसबाट अछूतो बन्न सकेको छैन। जिल्लामा आत्महत्याको दर बर्सेनि बढ्दो क्रममा छ। जसले इलामलाई मात्र नभएर सिंगो राष्टझलाई नै एकातर्फ क्षति पुगिरहेको छ भने अर्कोतर्फ यसको नियन्त्रणमा थप चुनौती बन्न थालेको छ।

एक जिल्लामा वार्षिक सरदर ७५ जनाले आत्महत्या गर्ने गरेको देखिए पनि इलाम भने वर्षमा सयजना हाराहारीले आत्महत्या गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६/०७७ को पुस महिनासम्म अर्थात् ६ महिनाको अवधिमा मात्र ५५ जनाले आत्महत्या गरेका छन्। जसमा ५३ जनाले झुन्डिएर तथा विष सेवन र औजार प्रयोग गरेर १/१ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा १६ वर्षदेखि ७५ वर्ष उमेरका छन् ।

यस्तै, प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा १ सय ११ जनाले आत्महत्या गरेका थिए। त्यसमा सबैभन्दा बढी झुन्डिएर ९२ जना, विष सेवन गरेर १६ जना, आफूलाई आगो लगाएर, हाम फालेर र औजार प्रयोग गरेर १/१ जनाले आत्महत्या गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा गत आर्थिक वर्ष ०७५/०७६ मा भने आत्महत्या गर्नेको संख्या ११ जनाले घटेको थियो। गत आर्थिक वर्षमा सयजनाले आत्महत्या गरेका थिए। जसमा झुन्डिएर ९२ जना, विष सेवन गरेर ६ जना तथा हामफालेर र औजार प्रयोग गरेर १/१ जनाले आत्महत्या गरेका थिए। जिल्लामा आत्महत्याको अत्यासलाग्दो तथ्यांक बाहिरीरहँदासमेत जिल्लाका कुनै पनि स्थानीय तहले आत्महत्या रोक्ने कुनै कार्ययोजना बनाएको छैन।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले आत्महत्या रोक्न स्थानीय तहहरुले योजना बनाउनुपर्ने बताए। इलाममा आत्महत्या बढ्दै गएको प्रति सरोकारवाला गम्भीर भएका छन् । आत्महत्या गर्ने वा प्रयास गर्ने ९५ प्रतिशत मानसिक रोगी हुने गरेको मनोरोगविज्ञ डा. कमल गौतमको भनाइ छ। सामान्य व्यक्तिको तुलनामा मानसिक समस्या भएका व्यक्तिमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी हुने र उसले बेलैमा उपचार पाएमा उनीहरुको जीवन बच्न सक्ने गौतमले बताउनुभयो। आत्महत्या ठूलो समस्या बन्दै आएको भए पनि जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा पाउन भने मुुस्किल छ।

प्रतिक्रिया दिनुहोस्