नमोबुद्ध नपामा राजश्व छली प्रकरण: अनियमितता छानविन गर्न गठित समिति विघटन



मोतीराम तिमल्सिना, काभ्रे । 

नमोबुद्ध नगरपालिकामा राजश्व संकलनमा भएको अनियमितता छानविन गर्न गठित समिति विघटन भएको छ । १५ दिन म्याद पाएको समितिले प्रारम्भिक छानविन गरेको छ ।

‘छानविन गरिनसक्दै म्याद सकियो, अख्तियारले पनि बिल भरपाईहरु बुझेर लग्यो’– छानविन समितिका सदस्य वडा अध्यक्ष कुलप्रसाद न्यौपानेले भन्नुभयो–‘अध्ययनको गहिराईमा पुग्न नपाउँदै म्याद सकियो, कार्यपालिका बैठकले म्याद थप्ने निर्णय नगरेकाले हामीले अनुसन्धान गर्दैनौं ।’ नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले अनियमितताको आरोप लागेका कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाए पनि करारका कर्मचारी भएकाले निलम्वन नगरिएको बताउनु भयो । नगरबाट छानविनका लागि गठन भएको समितिलाई १५ दिनको समय दिएकाले उक्त अवधी भित्र भएको छानविनको प्रतिवेदन समितिले

बुझाएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो । ‘अख्तियार आफैले छानविनका लागि विल प्याडहरु लगेको छ, नगरपालिकाको छानविन समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ’–नगर प्रमुख टिपी शर्मा तिमिल्सनाले भन्नुभयो–‘छानविन समितिको प्रारम्भिक प्रतिवेदन समेत अध्ययन गर्न भ्याएको छैन । अरु काम अख्तियारले गर्नेछ ।’

छानविन समितिमा रहेका सदस्यहरु नै राजश्व छलीमा संलग्न भएको समाचार प्रकाशन भए पछि कार्यपालिका बैठकले अन्य तीन जना थप गरेको थियो । मंगलबार बसेको कार्यपालिका बैठकमा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले छानविन समितिले सोमबारसम्म तयार गरेको प्रारम्भिक प्रतिवेदनका बारेमा जानकारी गराउन लगाउँदै म्याद सकिएकाले उक्त छानविन समितिको औचित्य समाप्त भएको बताउनु भएको थियो । प्रतिवेदनमा के के उल्लेख थियो ? बैठकमा पढेर नसुनाईएको प्रवक्ता सञ्जिव ढकालले बताउनु भयो । बैठकमा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले प्राप्त प्रतिवेदन अख्तियारले मागेकाले उतै पठाउने बताउनु भएको थियो ।

बैठकमा छानविन समितिका तर्फबाट संयोजक रामकृष्ण अधिकारीले छानविनमा अनियमितता देखिएका विषयहरु संक्षिप्त रुपमा प्रस्तुत गर्नु भएको थियो । उक्त समितिले राजश्व संकलनमा खटिएका कर्मचारीहरु इन्चार्जका रुपमा रहेका कमल कुईकेल, सुरज तामाङ, ङेमा लामा, राजेश कुईकेल, विरमान लामा, इन्द्रबहादुर कुईकेल र विष्णु अधिकारीसँग बयान लिएको थियो । बयानका क्रममा राजश्व अनियमिततामा भएका विषयहरुका बारेमा जानकारी दिएका थिए । बयानका क्रममा इन्चार्ज कमल कुईकेल लगायतका कर्मचारीहरुले राजश्व अनियमिततामा निर्देशन मानेको बयान दिएका छन् ।

कर्मचारीहरुले राजश्व संकलनबाट मासिक ९० हजार जनप्रतिनिधि र कर्मचारीहरु मार्फत हुने खाजा खर्च रकम तिर्ने गरेको बयान दिएका छन् भने इन्चार्ज कमल कुईकेल सहित अन्य ६ जना कर्मचारीहरुले रकम अनियमितता, निशुल्क पठाईएको र राजश्व रसिद नकाटिएको बारेमा बयान दिएका छन् । अख्तियारले उक्त नगरपालिकामा भएको राजश्व अनियमितताको छानविनका लागि रसिदहरु नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले चालु वर्षको ५ महिनाका लागि जम्मा १ करोड ५० लाखमा बोलपत्र आब्हान गरेकोमा १ करोड ५५ लाखमा सम्झौता भएको छ । राजश्व चुहावट हुँदा १ लाख नउठेको नगरपालिकामा माघ १६ गते देखि दैनिक २ लाख संकलन हुँदै आएको छ । त्यहि रेसियोमा झण्डै ३ करोड रकम संकलन हुने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्