बलात्कारका ३ सय ८६ घटनामा बालिका २ सय ५३



नेपाल समाचारपत्र, हेटौंडा

सन् २०१९ मा बाग्मती प्रदेशमा प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका छन्। जसमध्ये १ सय ३३ महिला पीडित भएका हुन्।

प्रदेश कार्यालय हेटौंडामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सन् २०१९ मा गिरफ्तारका घटनामा १ सय ६८ जना, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा १२ जना, जातीय विभेदका घटनामा २१ जना, महिला अधिकार उल्लंघनका घटनामा ७ सय ४७ जना, यातनाका घटनामा ७ जना र बालअधिकार उल्लंघनका घटनामा ३ सय ७६ जना पीडित भएका छन्।

जसमा राज्यपक्षबाट १४ महिलासहित २ सय १७ जना र अन्य पक्षबाट १ हजार १ एक ७० महिलासहित १ हजार २ सय ७७ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेक बाग्मती प्रदेश कार्यालयले सार्वजनिक गरेको हो।

इन्सेक बाग्मती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०१९ मा बाग्मती प्रदेशभित्र भएका मानव अधिकार उल्लंघनका घटना र प्रदेशको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिनुभएको हो।

उहाँका अनुसार बाग्मती प्रदेशका १३ जिल्लामा भएका बलात्कारका घटनामा ६६ प्रतिशत बालिका पीडित भएका छन्। बलात्कारका ३ सय ८६ वटा घटनामा २ सय ५३ बालिका र सन् २०१८ प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ८ सय १९ जना पीडित भएका थिए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२० मा समावेश भएको बाग्मती प्रदेशको मानव अधिकारको अवस्थाबारे सञ्चारकर्मीलाई जानकारी गराइएको थियो।

वर्ष पुस्तकको तथ्यांकअनुसार सबभन्दा बढी संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा ९७ बालिका र ६४ महिला बलात्कारबाट पीडित भएका छन्। भक्तपुरमा २१ बालिका र ११ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, दोलखामा ९ बालिका र ३ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला, धादिध्रमा ८ बालिका र १ महिला, नुवाकोटमा १० बालिका र ५ महिला, काभ्रेमा ९ बालिका र ३ महिला बलात्कृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्