ईटा भट्टामा रहेका बालबालिकालाई लक्षित गरी बुंगमतीमा स्वास्थ्य शिविर



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर महानगरपालिका–२२ बुंगमतीमा रहेको विभिन्न ईटा भट्टमा आश्रित बालबालिकालाई लक्षित गरेर राखिएको स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी त्यहाँका बालबालिका र तिनका मजदुर अभिभावकलाई समेत लक्षित गरी बिहीबार बुंगमतीको खोइचामा शिविर राखिएको थियो ।

ईटा भट्टामा काम गर्ने मजदुर र आश्रित बालबालिकाको स्वास्थ्य सुधार गर्न शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । बुंगमतिमा रहेको बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा त्यहाँ शिविर सम्पन्न भएको हो ।

त्यहाँ यी संस्थाको साझेदारीमा ‘ईटा उद्योगमा रहेका बालबालिकाहरुको उत्थानशिलता विकास परियोजना’ समेत सञ्चालनमा छ । बुंगमतिमा ओम श्री ईटा उद्योग युके, बुंगमति ईटा उद्याग, जयभैरब ईटा उद्योग र नेवा ईटा उद्योग गरी चार ईटा भट्टा संचालनमा छ ।

शिविरमा बाल विशेषज्ञ सहितको टोलीबाट बालबालिका र अभिभावक मजदुरहरुको सामान्य स्वास्थ परिक्षण, औषधी समेत वितरण गरिएको सँस्थाकी प्रतिनिधि ज्योती नगरकोटीले बताईन् । शिविरबाट तीन सय ७० बढीले परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्