रुदी खोलाबाट साढे १५ मेगावाट विद्युत्



लमजुङ, (नेस)

पछिल्लो समय निर्माण भएको रुदी ‘बी’ जलविद्युत् आयोजनाले आइतबारबाट व्यावसायिक उत्पादन थालेको छ । रुदी बीले व्यावसायिक उत्पादन थालेसँगै लमजुङको रुदीखोलामा ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ र ६ दमशलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना गरी १५ दशमलव ४ मेगावाटका दुई वटा जलविद्युत आयोजनाले विद्युत् उत्पादन थालेका छन् ।

जिल्लामा गत वर्ष ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाले निर्माण सम्पन्न भएसँगै विद्युत् उत्पादन थालेको हो । दुवैै आयोजनाबाट उत्पादित विद्युत् कास्कीको मादी गाउँपालिका–९ मुग्रेबेंसीस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेनशनमा जडान गरिएको छ ।

रुदी ‘बी’ आयोजना लमजुङको सिङ्दी क्षेत्रमा निर्माण गरिएको छ भने रुदी ‘ए’ लमजुङ सिमाना कास्कीको मादी गाउँपालिका ८ र ९ क्षेत्रमा निर्माण गरिएको छ ।

आयोजनाको इन्टेक, पेनस्टक, उपकरण साथै मेसिनरी सामग्रीको सफल परीक्षणपछि विद्युत् उत्पादन थालिएको आयोजनाका प्रमुख सरोज भट्टराईले बताउनुभयो । रुदी ‘बी’ बाट बार्षिक ३३ दशमलव २६ गिगावाट आवर विद्युत उत्पादन हुने छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रवद्र्धन विन्ध्यावासिनी हाइड्रोपावर कम्पनी आफैंले ३३ केभीको सिंगल सर्किट विद्युत् प्रसारण लाइन निर्माण गरेको छ ।

प्रवद्र्धकले ९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको आयोजना प्रमुख भट्टराईले बताउनुभयो । आयोजनामा १ अर्ब १५ करोड रुपियाँ लागत अनुमान गरिए पनि कति खर्च भयो भन्ने आयोजनासँग हिसाब किताव छैन ।

आयोजनामा कुल लगानीमध्ये बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँंजी रहेको छ । २०७४ जेठबाट औपचारिक रुपमा निर्माण थालेको रुदी ‘बी’ आयोजनाको निर्माण २० महिनामा सकिएको आयोजनाका प्रमुख भट्टराईले बताउनुभयो । लमजुङमा निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन थालेको दुईवटै आयोजना विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्