नाटक महोत्सवमा रम्यो इलाम  



यदुप्रसाद भट्ट, काठमाडौं/गणेश घिमिरे, इलाम

लिच्छवि र मल्लकाल 

नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यस बेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ ।

नरेन्द्रदेवको पालामा नृत्य पारखीहरू निकै थिए । यसै गरी द्वितीय जयदेवको समयको शिलापत्रमा ‘पोण्डिमण्डपीका’ र ‘पे्रक्षण मण्डपी’को उल्लेखबाट त्यो बेला ती ठाउँ विभिन्न शुभकार्य गर्न र नृत्य वा नाटक गर्न त्यसको प्रयोग हुन्थ्यो भन्ने थाहा लाग्छ । गोपाल वंशावलीमा चम्पादेवको पालामा चार अङ्कको ‘रामायण’ नृत्य नाटकको आयोजना भएको उल्लेख छ । यी सम्पूर्ण तथ्यहरू हेर्दा लिच्छविकालमा नाट्य रङ्गमञ्चीय कलाको उल्लेख्य विकास नभए पनि यसको पृष्ठभूमि भने अवश्य तयार भएको थियो भन्न सकिन्छ ।

मल्लकालमा आइपुग्दा यस सयममा विभिन्न कला, कौशल र सांस्कृतिक गतिविधिको विकाससँगै नाट्यकलाले पनि एउटा ठोस रूप लियो। इतिहासकारहरू मल्लकाललाई नाटकको स्वर्णकाल समेत मान्दछन् । मल्लकालमा नाटक भन्नाले गीत, नृत्य र अभिनयको सम्मिश्रण मानिन्थ्यो।

खास गरी त्यसताका गाईजात्रा, इन्द्रजात्राजस्ता विभिन्न जात्राको अवसरमा प्रस्तुत हुने नाट्यकला विशेष उल्लेखनीय छ । त्यो बेला काठमाडौं, पाटन र भक्तपुर तीनवटै राज्यमा नाटक लेखन र मञ्चन निकै हुनुका साथै विभिन्न स्थानहरूमा नाटककै लागि भनेर थुप्रै नाट्यशाला र डबलीहरू पनि निर्माण भएको बुझिन्छ । नेपाली रङ्गमञ्चको परम्परा र विकासका निम्ति मल्लकालको विशिष्ट स्थान रहेको मानिन्छ ।

डबली, नाच र लोकनाटक  

नेपाली रङ्गमञ्चीय परम्परामा डबलीको विशिष्ट स्थान रहेको छ । डबलीमा विभिन्न प्रकारको नाच तथा लोक नाटक प्रदर्शन गर्ने चलन त अहिले पनि प्रचलित छ । यस्ता नाच९नाटकहरू लगातार कैयौँ दिनसम्म देखाइन्छ।

स्वस्थ परम्परामा अवरोध: राणाकाल

विसं १८५५ तिर शक्ति वल्लभ अर्यालले पहिलोपटक संस्कृत नाटक ‘हांस्यकदम्ब’को नेपालीमा अनुवाद गरे। विसं १८९२ तिर भवानीदत्त पाण्डेले ‘मुद्रा राक्षस’को अनुवाद गरे। विसं १९०४ देखि राणाहरूको एकतन्त्रीय जहानियाँ शासन सुरू भएपछि नेपाली नाटक र रङ्गमञ्चलाई उनीहरूले बढीजसो समय आफ्नो मनोरञ्जनका माध्यमका रूपमा नै उपयोग गरे। राणाहरूको उदयको समयमा भारतको तत्कालीन रङ्गमञ्चमा पारसी थियटरको निकै प्रभाव रहेको थियो ।

मोतीरामको रङ्गमञ्चीय मोड

व्यावसायिक परम्परालाई भारतेन्दुले अस्वीकार गरेर भारतीय रङ्गमञ्चमा नवीनता दिन खोजिरहेको समयमा मोतीराम भट्ट भारतेन्दुको सम्पर्कमा पुगे। उनीबाट प्रभावित मोतीराम नेपाल फर्केपछि (वि।सं। १९४३ तिर) उनले नेपालमा पनि भारतेन्दु शैलीलाई प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ । राणा दरबारहरूमा भएको पारसी रङ्गमञ्चको प्रभावलाई हटाएर नेपालीपन र स्तरीयता दिने उनको प्रयास रहेको थियो।

मोतीरामले वि.सं. १९४४ मा पहिलोपल्ट नेपाली रङ्गमञ्चमा नेपाली भाषामा कालिदासद्वारा लिखित ‘अभिज्ञान शाकुन्तलम्’को अनुवाद गरी ‘शकुन्तला’ नाटक प्रदर्शन गराए। हिन्दी र उर्दूको तत्कालीन बाहुल्यता तोडेर नेपाली भाषाका नाटक प्रस्तुत गर्ने उनको यो जमर्को क्रान्तिकारी कदम थियो त्यसैले उनी नेपाली रङ्गमञ्चका अगुवा मानिन्छन्। उनका अन्य अनुवादित प्रमुख नाटकहरू ‘शकुन्तला’ (१९४४), ’पद्मावती’ (१९४६) र ’प्रियदर्शिका’ (१९४८) हुन्।

पहलमानको मौलिकता

नेपाली रङ्गमञ्चमा एकातिर सतही र मनोरञ्जनपूर्ण थियटरको बोलवाला र अर्कोतिर संस्कृत परम्परा अघि बढिरहेको बेला मौलिक नेपाली नाटकका प्रथम स्रष्टाका रूपमा पहलमानसिंह स्वाँर विसं १९३५(१९९१) देखा परे। स्वाँरको नाटक ‘अटलबहादुर’ (१९६३) नेपाली रङ्गमञ्चमा एउटा ठूलो क्रान्ति थियो । त्यस समयको नेपाली रङ्गमञ्चको परिवेशमा सर्वथा नवीन प्रयोगको रूपमा रहेको नाटक ‘अटलबहादुर’ संस्कृतमूलक रूपान्तरका नाट्यपरम्परा र रोमाञ्चकारी थियटर परम्पराभन्दा बेग्लै रूप लिँदै नेपाली नाट्य परम्परामा देखा प¥यो।

सम र आधुनिकता

नेपाली नाटक र रङ्गमञ्चमा आधुनिकता भित्राउने श्रेय बालकृष्ण सम (विसं १९५९-२०३८) लाई जान्छ । मौलिक रूपमा शुद्ध नेपाली भाषाको नाटकको आरम्भ गर्ने स्रष्टाका रूपमा सम देखा परे। समको आगमनपछि नै नाट्य लेखन र मञ्चन दुवै क्षेत्रमा एउटा सिङ्गो युगको निर्माण भयो। पूर्वेली, पश्चिमेली र नेपाली लोकतत्त्वको समन्वय गरी एउटा विशिष्ट नाट्यकलाको संरचना गर्ने काम नाट्यकर्मी समले गरे।

बालकृष्ण सम राणा दरबारमा हुर्केका हुनाले दरबारमा देखाइने रोमाञ्चकारी नाटकहरूबाट अनभिज्ञ थिएनन् तर उनले उर्दू र हिन्दीका नाट्य परम्परालाई त्यागेर नवीनरूपमा नाट्यकृतिको रचना गरी तिनको प्रदर्शन गरे। समको ‘मुटुको व्यथा’ (विसं१९८६) नेपाली नाट्य परम्परामा मौलिक नाटकको स्थापना गर्ने उत्कृष्ट नाट्य कृति हो।

संस्कृतको परम्परालाई अंशतः त्यागेर नेपाली वातावरणमा पूर्णतया मौलिकता दिएर लेखिएको यही नाटकबाट नै आधुनिक नेपाली नाटकको सुरूवात भएको हो। दृश्य विधान, प्रस्तुतीकरण र शिल्पका दृष्टिले पनि यसअघिका अन्य नाटकभन्दा यो नितान्त भिन्न र नौलो छ।
सांस्कृतिक संस्थानअन्तर्गत राष्ट्रिय नाचघर रहन गएपछि तीसको दशकमा संस्थानबाट व्यावसायिक रूपमा थुप्रै नाटकहरू प्रदर्शन गरिए। यही सिलसिलामा हालै इलाममा भएको नाटक महोत्सवको केही चर्चापरिचर्चा गरिएको छ ।

कला, संस्कृतिले भरिपूर्ण इलाम साहित्यिक माहोलमा रमाएको थियो । सदरमुकाममा रहेको गौतम बुद्ध सभागृहमा एक हप्तासम्म नाटक महोत्सव सञ्चालन भएको थियो । देशका सातवटै प्रदेशका एक÷एकवटा उत्कृष्ट नाटक यहाँ मञ्चन भएका थिए । दैनिक दुई सेसनमा फरक फरक नाटक मञ्चन भएका थिए ।
इलाम राष्ट्रिय लोक नाटक महोत्सव नाम दिएको नाटक महोत्सवको पहिलो दिन थान शीर्षकको नाटक आयोजकको तर्फबाट प्रस्तुत भयो । त्यसपश्चात दोस्रो दिनदेखि सातवटै प्रदेशको नाटक मञ्चन भएका थिए ।

सुम्निमा पारुहाङ 

प्रवीण पुमाको लेखन तथा किशोर अनुगले निर्देशन गरेको प्रदेश नम्बर १ को सुम्निमा पारुहाङ नाटकले सुम्निमा पारुहाङका माध्यमबाट पृथ्वीमा मानिस, जीव, वनस्पति, पशुपन्छीलगायतको उत्पत्तिबारे दर्शकले जानकारी पाउने मौका पाए । पारुहाङ ‘आकाश’ बाट धर्तीमा बस्ती बसाउन मानवको रूप धारण गरी आएको कथामा देखाइएको छ । उनीहरूबाट मानवका साथै पशुको पनि सिर्जना भएको र पशु हिंस्रक भएकाले जंगलमा, मानव दयालु भएकाले घरमा बस्न थालेको मुन्धुमको कथालाई यो नाटकले उल्लेख गरेको छ ।

समाजको कथा र मुन्धुमको विश्वास भएकाले आफूले त्यही विश्वासलाई नाटकमा उतारेको निर्देशक अनुरागको भनाइ छ । मुन्धुमको यो कथा अहिले पुस्तान्तरण भएर समाजमा अझै जीवित छ । यो लोकनाटक भएकाले यसले धार्मिक इतिहासलाई उजागर गरेको छ । नाटकमा पुर्खाजित राई, विशाल राई, मधु राई, अञ्जली चन्द ठकुरी, रमेश राई, आइशा राई र समीर राईलगायतले अभिनय गरेका छन् ।

‘सुम्निमा–पारुहाङ’ नाटकमा निनाम्मा र हेन्खामाको उत्पत्तिपछि हेन्खामाले मानव वस्ती बसाउन गरेका विभिन्न संघर्षलाई नाटकमा देखाइएको छ । नाटकमा किरात पुर्खाले भोगेका क्षण र त्यस बखतको वातावरणलाई प्रस्तुत गरिएको छ । सुम्निमा र पारुहाङबीचको कथा किरात राई सभ्यतामा अर्थपूर्ण मानिन्छ ।

नाटकमा आकाशबाट पारुहाङ निनाम्माको भेषमा पृथ्वीसम्म आइपुग्नु, त्यहाँ उनको हेन्खामा नामक महिलासित साक्षात्कार हुनु, विवाहको प्रस्ताव राख्नु, हेन्खामाले प्रस्ताव अस्वीकार गर्नुजस्ता दृश्यहरूबाट कथा नयाँ मोडमा प्रवेश गर्छ । प्रस्ताव अस्वीकारपछि अपमान ठानेर निनाम्माले पृथ्वीमा सुख्खा बनाइदिनु र त्यसपछि ब्याकुल भएकी हेन्खामा छटपटाएको दृश्यले पानी, प्रकृति र मान्छेसँगको घनिष्ट सम्बन्धलाई जोडिदिएको छ ।

मानव सभ्यताको उदय र प्रकृतिसँग मानवको सम्बन्ध यसपछिको दृश्यमा झन् रोचक ढंगले प्रस्तुत गरिएको छ । पानीका लागि छटपटाएकी हेन्खामाले रुखको टोड्कामा रहेको पानी टाङटुमीको सहयोगमा पिएपछि उनी गर्भतवी हुन्छिन् । किनकि, त्यो पानीमा निनाम्माको वीर्य मिसिएको हुन्छ । यसपछि हेन्खामाको भेषमा रहेकी सुम्निमाले सन्तानको रूपमा बाघ, भालु र कान्छो सन्तानको रूपमा मानव ९होङ्छा० लाई जन्म दिन्छिन् ।

माया दिएर हुर्काएकी सुम्निमाले तीन दाजुभाइ बाघ, भालु र मानव सधै मिलेर बसेको देख्न चाहन्छिन् । तर, त्यो हुँदैन । यही मोडमा सृष्टिको उत्पत्ति तथा मानव, मानवेत्तर प्राणीजगत्को उत्पत्तिसँगै एक अर्काबीचमा द्वन्द्व सुरु भएको नाटकमा देखाइएको छ । एउटै कोखबाट जन्मिएका चाप्चा ९बाघ० र वान्पा (भालु) मानवेत्तर पात्र हुन् भने होङ्छा मानवीय पात्र । मानव र मानवेत्तर प्राणीबीचमा हुने द्वन्द्वलाई नाटकमा प्रस्तुत गरिएको छ ।

कनन हरलता

दुई नम्बर प्रदेशको प्रतिनिधि नाटक ‘कनन ९कृष्ण० हरलता ९राजकुमारी०’ समेत महोत्सवमा मञ्चन गरियो । नाटकमा महाभारत सकिएपछि राजा परिक्षितकालको थारू समुदायको वास्तविकता दर्साइएको छ । निर्देशक कुन्दन चौधरीका अनुसार नाटकमा थारू समुदायको कृषिपद्धति, मानवीय स्वभाव, मित्रता, प्रेम, बिछोड, संस्कार र संस्कृति झल्काइएको छ ।

‘नाटकले थारु समुदायको जनविश्वास, मानमर्यादा, राजा–प्रजाको सम्बन्ध र प्रकृतिको वर्णन गरेको छ । यसले त्यति बेलाको थारू समुदायको चित्र उतार्ने प्रयत्न गरेको छ । नाटकमा रोशन सुवेदी, रक्षा थापा, आयान खड्का, विकास पन्त, कुञ्जन चौधरी, उमेशकुमार चौधरी र सागर खातीलगायतको अभिनय गरेका थिए ।

राजकुमारको मल्ल युद्ध

राजकुमार शिकार खेल्न जाँदा प्राणीहरुलाई दुःख दिइरहने लाखेसँग घमासान युद्ध हुन्छ । लाखेलाई मारेर समाजमा शान्ति, सुस्वास्थ्य कायम गर्न राजकुमारले देखाएको पुरुषार्थको बिषयलाई नै समेटेर यो नाटक तयार पारिएको छ । लाखे नाच कसरी सुरु भएको हो भन्ने बिषय पनि यसले समेटेको छ । प्रदेश नम्बर ३ को प्रतिनिधित्व गर्दै मञ्चन गरिएको यस नाटकमा कला, संस्कृतिको धनी नेवार जातिको नाच, जात्रा, पर्व, चाडबाढलगायतका विषयबस्तुलाई उठान गरिएको नाटक निर्देशन गरेका कृष्णभक्त महर्जनले बताउनुभयो ।

मल्लकालीन सभ्यतादेखि नै आरम्भ भएको लोकमान्यतालाई देखाउन राजकुमारको मल्लयुद्ध नाटक पनि मञ्चन भएको छ । श्रीराम दाहालले लेख्नुभएको उक्त नाटकमा जितगोविन्द महर्जन, श्रीराम महर्जन, दशलाल महर्जन, ज्ञानभक्त महर्जन, जगनबहादुर महर्जनसहित १७ जना कलाकारले अभिनय गरेका छन् ।

नमोबुद्ध 

पानचाल भन्ने राज्यका राजा महारथ र रानी सत्वतीका तीन राजकुमार महाप्रणव, महादेव र महासत्व थिए । महासत्व करुणा र दयालु स्वभावका थिए । एक दिन तीनै जना राजकुमार वनमा घुम्ने क्रममा भोकाएका सुत्केरी बघिनी ६ वटा डमरुको साथमा देखेपछि बघिनीलाई बचाउन महात्सवले आफ्नो स्वइच्छाले आफनो शरीर सुम्पिन्छ र प्राण त्याग्छ ।

जव पछि सिद्धार्थ गौतम बुद्ध बुद्धत्व प्राप्त गर्ने क्रममा त्यसमा ठाउँमा पुग्दा त्यो राजकुमार अरु कोही नभएर पहिलो जुनीमा आफू नै रहेको थाहा पाउँछन् । यही सेरोफेरोमा यो नाटक मञ्चन भएको छ ।

मानव भएर हत्या हिंसा नगर्नु, सबैलाई माया गर्नुपर्छ, सधैं अरुको भलो चिताउनुपर्छ भन्ने सन्देश यस नाटकबाट दिन खोजिएको नाटकलाई निर्देशन गर्नुभएका निशा पाख्रिनले बताउनुभयो । फूलमान वलले लेख्नुभएको उक्त नाटकमा आशिष तामाङ, शान्ति वाइवा, सृष्टि भण्डारी, संजीत राईसहित ९ जना कलाकारले अभिनय गर्नुभएको छ ।

कजरी 

प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै इलाम राष्ट्रिय लोकनाटक महोत्सवमा कजरी नाटक मञ्चन गरियो । सुदीप पट्टेलले निर्देशन गर्नुभएको नाटकमा प्रेम सन्देश बोकेको छ ।

ठाकुर र कजरी यस नाटकका मुख्य पात्र हुन् । गरिबीको चपेटामा परेपछि विवाह गरेर कमाउन विदेश गएको लोग्ने (ठाकुर) को विदेशमै मृत्यु भएपछि लोग्नेको मायामा तड्पिएर श्रीमती (कजरी)ले पनि आत्महत्या गर्छिन् र उनीहरुको आत्मा मिलन भएको कुरालाई प्रमुखताका साथ नाटकमार्फत देखाइएको छ । नाटकमा सृष्टि आचार्य, अनन्तराज सिग्देल, लीलादेवी ओझा, सुदीप पटेलसहित १२ जना कलाकारले अभिनय गरेका छन् ।

छैंटी  

कर्णाली सिञ्जा क्षेत्रमा रहेका राजाको लामो समयसम्म सन्तान भएन । त्यसैले उनी वास्तविक नामभन्दा पनि अपुतो राजा भनेर प्रचलित थिए । निकै घमण्ड स्वभावका भएका कारण पनि सन्तान नभएको पनि भनिन्थ्यो । अनेक देवीदेवता भाकेर एउटा छोरा जन्मियो । तर निकै रोगी । यस विषयबाट सुरु भएको नाटकमा दरबारमा रातभर बाजागाजा बजाइयो ।

बिभिन्न नाच देखाइयो । राजाकी बहिनीले ढोकामा तेल तताएर बसेको बेला एउटा भौर तातो तेलमा परेर मरेपछि राजकुमार बाँचेको घटनालाई जोडेर राजकुमार जन्मेको छैंटौ दिनमा बाजागाजा बजाएर, देउडा खेलेर, बालो नचाएर उत्सवको रुपमा छैंटी मनाएको र त्यो आजसम्म पनि कायम रहेको घटनालाई जोडेर लेखक तथा निर्देशक गणेश उपाध्यायले छैंटी नामक नाटक लेखे ।

सो नाटक इलाममा प्रदेश नम्बर ६ को प्रतिनिधित्व गर्दै मञ्चनसमेत भएको छ । नाटकमा गणेश उपाध्याय, कोपिला थापा, तेजप सुवेदीसहित १० जना कलाकारको अभिनय रहेको छ । नेपालको पूर्वी भेगमा भने बच्चा जन्मेको छैटौ दिनमा उसको भाग्य कोरिने अर्थात् छैंटौ दिन दियो बालेर कापीकलम राखिदिए भावीले भाग्य लेखिदिने गरिन्छ ।

लोली सज्जा

सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्व हो । गौरा पर्वमा रहेको सांस्कृतिक कुरालाई लोली सज्जा नामक नाटकमार्फत मञ्चन गरियो । चाँदनी मल्लले लेखेको उक्त नाटकलाई झकेन्द्र बिसीले निर्देशन गर्नुभएको छ ।

पुष्पराज अवस्थी, सगुन पोख्रेल, अमृता श्रेष्ठसहित ११ जना कलाकारले अभिनय गरेको उक्त नाटक प्रदेश नम्बर ७ को प्रतिनिधित्व गर्दै इलाम राष्ट्रिय लोकनाटक महोत्सवमा मञ्चन गरियो । नाटकले गौरा पर्वमा संस्कृतिको कुरालाई नाटकमार्फत देखाउन खोजिएको छ । गौरा पर्व कसरी मनाइन्छ, यसको महत्व के छ भन्ने कुराको सन्देश नाटकमार्फत दिन खोजिएको निर्देशक बिसीले बताउनुभयो ।

सात प्रदेशको लोकसंस्कृति नाटकको माध्यमबाट संरक्षण र प्रचार गर्न राष्ट्रिय नाचघरले आयोजना राष्ट्रिय लोकनाटक महोत्सव आयोजना गरेको हो । देशभरको लोकसंस्कृति झल्काउन राष्ट्रिय लोकनाटक महोत्सव आयोजना गरेको आयोजक राष्ट्रिय नाचघरले जनाएको छ । महोत्सव उद्घाटनमा चेतना नाट्य समूहको थान नाटक मञ्चन गरिएको थियो ।

पतिको निधनपछि महिलाले जीवनयापनका लागि गर्नुपरेको संघर्ष नाटकमा झल्काइएको थियो । स्थानीय लोकसंस्कृतिको पृष्ठभूमिमा तयार गरिएको नाटकमा समाजमा विद्यमान झाँक्रीप्रतिको विश्वास र घरमा चिन्ता राखेर मृतकको आत्मा बोलाउनेजस्ता सामाजिक वास्तविकता दर्साइएको छ । सुरेश पोर्तेलले निर्देशन गरेको नाटकमा भावना मगर, प्रसन्न घिमिरे, राम आचार्यलगायत कलाकारले अभिनय गरेका थिए ।

नाटकका माध्यमबाट लोकसंस्कृति झल्किने मात्र नभई त्यसको प्रचारसमेत हुने नाचघरका अध्यक्ष प्रेम अधिकारीले बताउनुभयो । यो महोत्सवले चाहिँ इलामको मात्र होइन, देशकै लोक–संस्कृति र परम्परालाई नाटकका माध्यमबाट उजागर गरेको र पर्यटक आकर्षित गरेको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्