लेइप्जिग र एट्लान्टा विजयी



लन्डन, (एजेन्सी)
जारी सिजनको यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब आरबी लेइप्जिग र इटालियन टोली एट्लान्टा विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा लेइप्जिगले इंग्लिस टोली टोटेनह्याम हट्स्परलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए। ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मिडफिल्डर कोन्राड लाइमेरलाई लडाएपछि प्राप्त पेनाल्टीमा वेर्नरले गोल गरे ।
त्यसैगरी अर्को खेलमा एट्लान्टाले घरेलु मैदानमा स्पेनिस टोली भ्यालेन्सियालाई ४–१ ले पराजित ग¥यो । खेलको १६ औं मिनेटमा हान्स हाटेबोरले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा जोसिप इलिचिचले एट्लान्टाको अग्रता दोब्बर पारे । खेलको ५७ औं मिनेटमा रिमो फ्रयूलर र ६२ औं मिनेटमा हाटेबोरले गोल गरेपछि एट्लान्टा ४–० को बलियो स्थितिमा पुगेको थियो । भ्यालेन्सियाका डेनिस चेरेसेभले ६६ औं मिनेटमा गोल गरेपनि उक्त गोल सान्त्वनामा सिमित भयो । दुवै खेलको दोस्रो लेग मार्च १० मा हुनेछ ।
म्यानचेस्टर सिटीको जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित आत्मसात गरेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्याम युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदान इत्तिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरेका थिए । खेलको सुरुवातदेखि नै वेस्टह्यामलाई दवाबमा राखेको सिटीले खेलको ३०औं मिनेटमा अग्रता लिन सफल भएको थियो । केभिन डि ब्रुयनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए ।
खेलको ६२औं मिनेटमा बर्नाडो सिल्भाको पासमा पहिलो गोलका लागि पास सिर्जना गरेका केभिन डि ब्रुयनले नै गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी कम गर्दा तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ । सिटीको ५४ अंक छ । लेस्टर ५० अंक जोडेर तेस्रो स्थानमा छ । रेलिगेसन जोनमा रहेको वेस्टह्यामको २४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्