चेपे खोला जलविद्युतमा एनएमबी बैंकको लगानी  



काठमाडौं (नेस)

एनएमबि बैक लिमिटेडले ८ दशमलव ६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ । सम्झौताअनुसार आयोजनाको कुल लागत एक अर्ब पचास करोड रुपियाँमध्ये बैकको लगानी कुल एक अर्ब बाह्र करोड पचास लाख रुपियाँ हुने बैंकले जनाएको छ ।

आशुतोष इनर्जी प्रालिद्वारा प्रवर्धित लम्जुङ्गको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा यो आयोजना निर्माण हुँदैछ । यससँगै एनएमबि बैक लिको कुल ४० वटा जलविद्युत आयोजनाहरूमा लगानी हुनेछ ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवर्धकहरू तथा स्थानीय बासिन्दाहरूको लगानीमा निर्माण हुँदैछ । व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्गको किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्