त्रिभुवन विमानस्थलमा शुरू भयो ‘पर्यटन परी’को सेवा 



नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गर्नुभएको हो। ‘पर्यटन परी’ नाम दिइएको दुईवटा रोबोटले विमानस्थलमा यात्रुलाई अभिवादन गर्नेछन् ।

त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् । रोबोटहरू विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ ।

रोबोटहरूले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरूलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् । रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । उहाँले प्रविधिमार्फत यात्रुलाई विमानस्थलको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताउनुभयो ।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । लागत प्रतिरोबोट २० लाख रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्