जर्मनी बार आक्रमणमा ९ जना मारिए



बर्लिन, (एजेन्सी)

आशंकित दक्षिणपन्थी उग्रवादीले पश्चिमी जर्मनीका दुईवटा सिसा बारमा गरेको आक्रमणमा कम्तीमा ९ जना मानिसको ज्यान गएको बिहीबार सरकारी अधिकारीहरुले बताएका छन्। चान्सलर एन्जेला मर्केलले हनाउ शहरमा भएको सो आक्रमणले जातिवादी आक्रोशका थुप्रै संकेतहरु देखिएको बताएकी छन्। संघीय सुरक्षाकर्मीहरुले यस घटनालाई आतंककारी कार्यको रुपमा विश्लेषण गरिरहेका छन्।

टर्कीले यस हमलामा मारिनेमध्ये कम्तीमा ५ जना तुर्केली नागरिक रहेको दाबी गरेको छ। ती ४३ वर्षीय आशंकित आक्रमणकारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनलाई उनकै घरमा आफ्नी आमाको शवसँगै मृत अवस्थामा भेटाइएको छ।

स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी तोवियास आर नामक जर्मन नागरिक रहेको जनाएको छ। दि बिल्ड अखवारले उनीसँग हतियार साथमा राख्ने अनुमति पत्र रहेको र उनको कारबाट हतियार र गोलीगठ्ठासमेत भेटिएको बताएको छ।

अनुसन्धानकर्ताहरुले उनले आक्रमण गर्नु दुई दिनअघि अनलाइनमा पोस्ट गरेको भिडियोको अध्ययन गरिरहेका छन्। त्यसमा उनले दक्षिणपन्थी आपराधिक अभिव्यक्ति दिएका छन्। जर्मन सञ्चारमाध्यमले उनले अपराध कबुलपत्र पनि छाडेको जनाएको छ।

जर्मनीमा केही समययता कटर दक्षिणपन्थी आक्रमण बढ्दै गइरहेको अवस्थामा यो आक्रमण भएको हो। बर्लिनमा यस विषयमा बोल्दै मर्केलले भनेकी छन्+ ‘जातिवाद विष हो। घृणा विष हो र यो विष हाम्रो समाजमा विद्यमान छ। जसका कारण पहिले नै थुप्रै अपराध भइसकेका छन्।’

स्थानीय समयनुसार बुधबार राति १० बजे हानाउ शहरको मध्यभागमा रहेको मिडनाइट सिसा बारमा पहिलो आक्रमण भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरुले त्यहाँ दर्जनौंपटक गोली चलेको सुनेको बताएका छन्। त्यहाँबाट आप्नो कारमा गएका उनले नजिकैको केस्सलस्टाड्टस्थित एरेना बार एन्ड क्याफेमा गोली चलाएका थिए।

सिसा बारहरुमा गएर मानिसहरु सिसा वा हुक्काहको नामले पनि चिनिने पाइप तान्ने गर्छन्। परम्परागत रुपमा मध्यपूर्व र एसियाली मुलुकहरुमा प्रचलित सिसा अहिले विश्वभरि नै फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्