मन्त्री बाँस्कोटाद्वारा राजीनामा, प्रम ओलीलाई धक्का



मधुसूदन रायमाझी, काठमाडौं।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको छ। उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुभएको हो।

अडियो सार्वजनिक भएसँगै चौतर्फीरूपमा आलोचना र विरोध भएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो। बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको थियो।

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिनुभएको थियो। लगत्तै कैलालीबाट फर्किएर सीधै बालुवाटार पुगेर बाँस्कोटाले राजीनामापत्र बुझाउनुभएको थियो। राजीनामा दिएपछि उहाँले आफूमाथि नैतिक प्रश्न उठेकाले राजीनामा दिएको बताउनुभयो।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मन्त्री बाँस्कोटा र स्विस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएपछि उहाँलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर राजीनामा दिन लगाउनुभएको थियो। सरकारले शुरूमा स्विस कम्पनीलाई दिने भने पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागेपछि अडियो सार्वजनिक भएको थियो।

मन्त्री बाँस्कोटाले दिएको राजीनामा बिहीबार नै स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले उहाँको राजीनामा स्वीकृत गर्दै बाँस्कोटाले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ।

कारबाही गर्न कांग्रेसको दबाब

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्दै कारबाही गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
बिहीबार बैठक शुरू हुनासाथ कांग्रेसका सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको बताउँदै यसबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गर्नुभयो।

७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरंगित भएको बताउँदै भुसालले यस विषयमा मा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।

‘प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही गर्छु भन्नुभएको थियो। अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ’, उहाँले भन्नुभयो– ‘सञ्चारमन्त्रीको बर्खास्तीले मात्र कांग्रेस चुप लागेर बस्दैन।‘

बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारबाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनी दिँदै भुसालले अडियो प्रकरणमा निष्पक्ष छानविन गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो।

आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने भन्दै कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गरेका थिए। कांग्रेसका सासदहरुलाई पटक–पटक बस्नका लागि आग्रह गरे पनि उभिरहेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गर्नुभएको थियो।

यसै गरी कांग्रेसले बास्कोटालाई बर्खास्त गरेर कारबाही गर्नुपर्ने माग गर्दै राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ। कांग्रेसले बर्खास्त गरेर निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ। बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए।

कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि उहाँ निकटका मन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोडदेखि ७५ करोडसम्म कमिसन मागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै निष्पक्ष छानबिन नहुँदासम्म संसद् चल्न नदिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्