समाचार टिप्पणी: चिनियाँ दूतावास र नेपाली प्रेस दुवैले मिचे सीमा



कपिल काफ्ले, काठमाडौं ।

पृथ्वीनारायण शाह, बीपी कोइराला वा मनमोहन अधिकारीलाई कुनै विदेशी प्रेसले मास्क लगाइदिएर अपमान ग¥यो भने के हामी ‘तिम्रो संविधानमा पूर्ण प्रेस स्वतन्त्रता’ लेखेको रहेछ, ठीकै छ भनेर चुप लागेर बस्छौं ?

यदि आफ्ना विशिष्ट र सम्मानित व्यक्तित्वको कुनै पनि मुलुकले अपमान गर्छ भने त्यहाँको नेपाली राजदूतावासले बोल्नुपर्छ, यदि बोल्दैन वा बोल्न सक्तैन भने त्यो राजदूतावास खारेज गरिदिए हुन्छ।

तर, नेपालस्थित चिनियाँ राजदूतावासले परराष्ट्र मन्त्रालयको कानमा आएर बोल्नुपर्ने थियो, विज्ञप्ति निकालेर बोल्यो, तरिकाचाहिँ नपुगेकै हो।
काठमाडौं पोस्टमा गत मंगलबार अमेरिकी कूटनीतिज्ञ इभो डाल्डरको चीन सरकारले कोरोना भाइरसको सन्दर्भ शुरूमा गोप्य राखेका कारण दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको र आफ्ना कमजोरी लुकाउन अधिनायकवादी सरकारले कमजोरी गोप्य राखेको भन्ने लेख साभार भएपछि विवाद चर्किको हो।

नेपाल समाचारपत्रलाई काठमाडौं पोस्टको विरोधमा प्रेसनोट निकाल्ने राजदूतावास र समर्थनमा विज्ञप्ति निकाल्ने १७ सम्पादकले प्रत्यक्ष जानकारी नदिए पनि विभिन्न मिडियाको अध्ययन गर्दा सन्तुलनको भने अभाव देखियो। राजदूतावास पोस्टका प्रधान सम्पादक अनुप काफ्लेलाई ‘थप कारबाही गर्ने’ हदसम्मको उग्रता देखाउन पुग्यो भने सम्पादकहरू आफ्ना सहकर्मीबाट पनि कमजोरी हुन सक्छन्, यस्तो बेला ‘माओत्सेतुङलाई मास्क नै लगाइदिनु आपत्तिजनक हो’ भन्न चुके। चिनियाँ राजदूतावासले मंगलबारै प्रकाशित गरेको विज्ञप्तिमा अन्तिम वाक्य पुग्नु अघिसम्म खासै आपत्ति जनाउनुपर्ने ठाउँ भेटिन्न।

काठमाडौं पोस्टमा गत मंगलबार अमेरिकी कूटनीतिज्ञ इभो डाल्डरको चीन सरकारले कोरोना भाइरसको सन्दर्भ शुरूमा गोप्य राखेका कारण दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको र आफ्ना कमजोरी लुकाउन अधिनायकवादी सरकारले कमजोरी गोप्य राखेको भन्ने लेख साभार भएपछि विवाद चर्किको हो।

‘गलत नियतले चिनियाँ सरकारको प्रयासलाई अवमूल्यन गर्ने गरी, कोरोना भाइरससँग लडिरहेका जनतालाई पीडा पु¥याउने गरी, चिनियाँ सरकार तथा व्यवस्था र जनतालाई होच्याउने दूषित मनसायका साथ लेखिएको लेख’ भनेर खण्डन गर्न चिनियाँ पक्षले त्यसरी नै पाउँछ जसरी डाल्डरले ‘अधिनायकवादी’ भनेर चिनियाँ राष्ट्रपति सी जिङपिङलाई गाली गर्न पाएका छन्। ‘यसलाई चीनमाथिको सुनियोजित आक्रमण ठान्दै हामी कडा असन्तुष्टि र विरोध गर्दछौं’, विज्ञप्तिमा यति मात्र भनिएको भए खण्डन पुग्थ्यो।

खण्डन गर्दा आफ्ना पक्षको थप जानकारी दिनु अवसरको सदुपयोग हो जो विज्ञप्तिमा चिनियाँ राजदूत हौ याङ्कीले गर्नुभएको छ। ‘विश्व स्वास्थ्य संगठनलगायत बाहिरी मुलुकका विशेषज्ञसँग मिलेर कोरोना भाइरस नियन्त्रणमा काम भएको छ। हामीले छोटो समयमा हजारौं बेडका धेरै अस्पताल बनायौं, यसले चीन कति सक्षम र प्रभावकारी छ भन्ने पनि प्रमाणित गर्दछ’ –राजदूत हौले भन्नुभएको छ।

उहाँको विवरण छ, यस घटनालाई चीनले लुकाएको छैन। समयमै सार्वजनिक गरेको छ– खुला र पारदर्शी ढंगले काम भएको छ, अन्तर्राष्ट्रिय सहयोगलाई मार्गप्रशस्त गर्दै काम भएको छ। हामीले प्रभावकारी रूपमा महामारी रोकथाम मात्र गरिरहेका छैनौं, यसलाई चीनबाहिर जान नदिन पनि भूमिका खेलिरहेका छौं, नेपाललगायत १ सय ६० भन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग मिलेर काम गरिएको छ।

‘भाइरसले मुलुकको सीमा चिन्दैन। सन् २००९ मा एच१ एन१ रुघाखोकी केही पश्चिमी मुलुकबाट फैलियो, २ सय १४ मुलुकका १८ हजार ४ सय ४९ व्यक्तिले ज्यान गुमाए। तर ६ महिनासम्म पनि मुलुकले संकटकाल घोषणा गरेन। त्यस मुलुकको राजनीतिक व्यवस्थालाई कसैले दोष दिएन। अहिले कोरोना भाइरसका सम्बन्धमा चीन र उसको राजनीतिक व्यवस्थासँग यस महामारीलाई जोडेर पश्चिमी मुलुकहरु गाली गर्दै छन्। यो अवश्य दोहोरो मापदण्ड हो’ राजदूत हौले बिरोधीलाई हल्लाउने गरी नै तर्क दिनुभएको छ।

चीनमा कोरोना भाइरस देखिनासाथ नेपाल सरकार र नेपाली जनताले जुन सहयोग सद्भाव गरे हामी धन्य छौं, नेपाली मिडियाले पनि साथ दियो र यसलाई नियन्त्रण गर्न सघायो, मौकामा राजदूत हौले इष्टमित्रलाई पनि आफ्नो पक्षमा पार्नुभएको छ।

उता आफ्नो लेखमा डाल्डरले चीनलाई चकित पार्ने गरी नै पेल्नुभएको छ, ‘अधिनायकवादीहरु घटना लुकाउँछन्, जब त्यसको खराब परिणाम आउँछ अरूलाई दोष पन्छाउँछन्, जिम्मेबारीबाट भाग्छन्, चीनले त्यही गरेको छ‘ ऊहानमा कोरोना भाइरस फैलिएको सूचना वी–च्याटमार्फत चुहाउने डाक्टर ली बेनलियाङ जो उपचारकै क्रममा कोरोना भाइरसकै कारण मरे, को सन्दर्भ जोडेर ठोक्नुहुन्छ।

तर यस ठोकाठोकको बीचमा नेपाल छिर्ने कि नछिर्ने ? दुवै पक्षले आ–आफ्नो खेमामा उभिन हामीलाई आग्रह, प्रोत्साहन र ‘पुरस्कार’ पस्किन्छन् नै, तर मुलुकको हित चाहिँ असंलग्न रहनमै हुनेछ। ठोकाठोकमा असंलग्न– फेरि द्विपक्षीय सम्बन्ध त आफ्ना ठाउँमा छँदै छ।

 

प्रतिक्रिया दिनुहोस्