नायिका आश्मा पनि निर्देशनमा



नायिका आश्मा गिरीले ए मेरी पूजा बोलको गीतमाथिमा आफूद्वारा निर्देशित म्युजिक भिडियो दर्शकमाझ ल्याएकी छिन्।

ड्रिम गर्लबाट फिचर फिल्मको यात्रा शुरू गरेकी आश्माले आफ्नो युट्युब च्यानल नेफोली क्रिएसन्सका लागि सो म्युजिक भिडियो निर्माण गरेकी हुन्। भिडियो सार्वजनिक गरेको अवसरमा आश्माले नेफोली क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आश्रित बालबालिकासँग खुसीयाली मनाइन्।

उनले बालबालिकालाई केक खुवाउँदै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन्। उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन्।

उनले नेफोली क्रिएसन्सका तर्फबाट हात्तीसारस्थित एक रेस्टुरेन्टमा टिकटकमा चर्चित प्रतिभाबीच जमघट कार्यक्रम आयोजना गरेकी थिइन्। टिकटकमाझ आफ्नो कम्पनीका कामहरूको जानकारी दिनुका साथै उनले त्यहाँ ए मेरी पूजाको प्रमोसन गरेकी थिइन्। टिकटकमा चर्चित प्रतिभाहरूले आश्माको कलाकारिता तथा भिडियो निर्देशनको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरेका थिए।

कौशलराज खड्काको स्वर र संगीत रहेको ए मेरी पूजा विशाल मल्लले रचना गरेका हुन्। भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बूलाई प्रस्तुत गरिएको छ। सुबल डंगोलले खिचेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, विजेश पौडेलको भीएफएक्स, कलर र सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्