नीरफूलमा रेखाको बदनामी



पत्रकार फुलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको नयाँ गीतलाई दर्शकले मन पराएका छन्। तिमी बदनामी बोलको यो गीतको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो।

गीतको भिडियोमा अभिनेत्री रेखा थापाले कुनै एक डान्सबारमा गीत गाएको दृश्य प्रस्तुत गरिएको छ। नायिकासँगै गायिकाको परिचय बनाएकी थापाले यो फिल्ममा बार सिंगरकै भूमिका निर्वाह गरको निर्देशक बलले जानकारी गराए।

फिल्ममा अभिनेत्री शान्ति वाइबा भूकम्पपछि जीवनयापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको यो गीतको दृश्यहरूबाट बुझिन्छ। आगामी फागुन ३० गते अल नेपाल रिलिज हुने निरपूmलको गीतले फिल्मको कथाको एउटा पाटो बोकेको देखिन्छ।

आइटम गीतभन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक बलले जानकारी गराए। दुर्गा खरेलले गाएको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। गीत फिल्मका निर्देशक बल स्वयंले लेखेका छन्।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका छन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन्। फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक बलले जनाए।

फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

निर्माताका रूपमा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्