हिमालयन शेर्पा सेमिफाइनलमा



नेपाल समाचारपत्र, हेटौंडा

हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी तेस्रो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
बुधबार जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा सम्पन्न खेलमा सरस्वती युवा काठमाडौंलाई ४–० गोलअन्तरले पराजित गर्दै शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो। हिमालयन शेर्पाको भेट आयोजक र च्यासलबीचको विजेतासँग हुनेछ।

हिमालयन शेर्पाको जितमा सुरज हमाल २ गोल गर्दै नायक बने। १० मिनेटमै हमालले गोल गरे भने ३७ औं मिनेटमा अर्को गोल थपेका थिए। ४९ मिनेटमा हिमालयनका कमल थापा मगरले गोल गर्दै अग्रता दिलाए। ७१ औं मिनेटमा बिसन गुरुङले गरेको अर्को गोलपछि हिमालयन शेर्पा विजयी भयो।

उनी म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाँच हजार रुपियाँ प्राप्त गरे। सरस्वतीका तीर्थ बस्नतेले प्रहार गरेको आकर्षक बल हिमालयन शेर्पाकोे गोलपोस्ट नजिकबाट बाहिरिएको थियो। हिमालयनका मानबहादुर तामाङले पाएको डिबक्सभित्रको बल पोस्टमाथिबाट बाहिरियो।

खेलमा सरस्वती युवा क्लबका विनोद केसीले केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन्। सरस्वतीले हिमालयन शेर्पालाई केही दबाबमा राखे पनि गोल गर्नै सकेन। प्रतियोगिताअन्तर्गत बिहीबार वीरगन्ज युनाइटेड र संकटा युवा क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्