कामना सेवा विकास बैंक च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं

छैटौं सिजनको माछापुच्छे« बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा भारतीय दूतावासलाई ९ रनले हराएर कामना सेवा विकास बैंकले उपाधि जितेको हो। योसँगै कामना सेवा बैंक पहिलोपटक सो प्रतियोगितामा विजेता बनेको छ। बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय दूतावासले ५ ओभर खेले पनि ५४ रनमा समेटिएको थियो। पराजित टोलीका लागि सुभास सिंहले सर्वाधिक २८ रन योगदान दिएका थिए। बैंकका बलरमा हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले समान एक–एक विकेट लिए।

यसअघि कामना सेवाले ५ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। टोलीका लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए, जसमा ५ चौका र १ छक्का सामेल थियो। फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टोलीका हेमन्त श्रीवास्तव चुनिए। यस्तै, प्राइम कमर्सियल बैंकका विवेक दली बलर र फिल्डरमा, सेन्चुरी बैंकका सुरज तिमिल्सिना ब्याटसम्यानमा, भारतीय राजदूतावासका राजेश चौधरी विकेटकिपरमा उत्कृष्ट घोषित भए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त ग¥यो।

प्रतिक्रिया दिनुहोस्