संघीयता सफल बनाउन मिडियाको महत्वपूर्ण भूमिका: यादव



नेपाल समाचारपत्र, बुटवल।

प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

५९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले बुधबार बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो।

‘राष्ट्रिय एकता र भाइचारा तथा भातृत्व अभिवृद्धिका लागि सञ्चारमाध्यमले भूमिका खेल्नुपर्दछ। सूचना र सञ्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ।’ –प्रदेश प्रमुख यादवले भन्नुभयो।

कार्यक्रममा राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताउनुभयो। उहाँले संघीयता कार्यन्वयनमा राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै हरेक स्थानीय तहमा राससका प्रतिनिधि जरुरी रहेको बताउनुभयो। उहाँले राससले प्रदेशस्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानीय सरकार र मिडियाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो। मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मिडिया जनताको पक्षमा हुनुपर्ने बताउनुभयो।

समारोहमा रासस प्रदेश ५ बाट स्थानीय सम्वाददाताको रूपमा उत्कृष्ट चयन हुनुभएका रासस पश्चिम नवलपरासीका सम्वाददाता मोहन पौडेललाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियोे।

प्रतिक्रिया दिनुहोस्